भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनका रक्षामन्त्री एडमिरल डोङ जुनलाई छिङदाओमा भेटेवार्ता गरेका छन् ।

भेटमा सिंहले चिनियाँ रक्षामन्त्री जुनसँग द्विपक्षीय सम्बन्धसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको बताएका छन् । उनले भनेका छन्- ‘मैले लगभग छ वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएकोमा खुशी व्यक्त गरें ।’

उनले सकारात्मक गति कायम राख्नु दुवै पक्ष (भारत र चीन) को जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

सिंहले चिनियाँ रक्षामन्त्रीलाई त्यस्तो समयमा भेटेका छन्, जब उनले चीनको छिङदाओमा आयोजित सांघाई सहयोग संगठनको बैठकको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

यसअघि, यस विषयमा जानकारी दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका थिए, ‘हामीलाई आतंकवादको बारेमा केही चिन्ता थियो र हामी त्यो दस्तावेजमा जान चाहन्थ्यौं । तर एउटा देशको यसमा आपत्ति थियो । जसका कारण वक्तव्यलाई अन्तिम रूप दिइएको थिएन ।’

pratikshya

प्रकाशित: १३ असार २०८२, शुक्रबार ११:५३