द हिडेन ट्रेजरद्वारा आयोजित मिस नेपाल २०२५ प्रतियोगितामा आवेदन खुला

काठमाडौँ । देश –विदेशमा रहेका इच्छुक युवतीहरूलाई यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन आवेदन दिन आह्वान गरिएको छ । आवेदन दिने अन्तिम म्याद २०८२ आषाढ २६ गते सम्म हुनेछ । मिस नेपाल २०२५ को भव्य फिनाले भदौ १४ गते (शनिबार) ललितपुर, गोदावरीस्थित सनराइज् कन्भेन्सन सेन्टरमा सम्पन्न हुने भएको छ । फिनाले कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । यस कार्यक्रमले नारीको सौन्दर्य, प्रतिभा, उद्देश्य र गरिमाको मनमोहक प्रदर्शन गरिनेछ ।

मिस नेपाल २०२५ मा सहभागी हुन चाहने उम्मेदवारको लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षको बिचमा हुनुपर्नेछ । आवेदकले नेपाली नागरिक हुनुपर्नेछ । प्रतिस्पर्धामा भाग लिन दर्ता फाराम निःशुल्क रहेको छ । यस वर्षको प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछ । मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मोको लागि छानिने छन् , साथसाथै पपुलर च्वाइस, ब्यूटिफुल हेयर, इन्टेलेक्चुअल, मिस सिल्क, मिस कन्फिडेन्ट, फोटोजेनिक, फेस अफ द इयर, विमेन विथ विङ्स, ब्यूटी विथ ए पर्पस, डिलाइटफुल हैपिनेस इन्टेलिजेन्ट, ई-मोबिलिटी, टाइमलेस ब्यूटी, एम्पावर्ड च्वाइस र ब्यूटिफुल स्किन जस्ता शीर्षकहरूमा पनि साथसाथै प्रतिस्पर्धा हुनेछ। मिस कोस्मो इन्टरनेशनल, जुन एक विश्व प्रसिद्ध प्रतियोगिता हो, यसमा नेपालले पहिलो पटक सहभागिता जनाउनेछ । मिस कोस्मो इन्टरनेशनल तथा वर्तमान मिस कस्मो २०२४ पनि मिस नेपाल २०२५ को फाइनलको समयमा यहाँ उपस्थित हुने अपेक्षा गरिएको छ ।

द हिडन ट्रेजरका पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीबाट मिस नेपाल २०२५ को बारेमा जानकारी दिनु भएको थियो । साथै पूर्व अध्यक्षबाट गोपाल सुन्दर लाल कक्षपति, वर्तमान अध्यक्ष अजय रत्न स्थापित, निर्देशक प्रमोद रत्न कंसाकार, मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी के.सी, नटराज ज्वेलर्सका प्रबन्ध निर्देशक अनुराज सरावी, बर्जर पेन्टस्का मार्केटिङ प्रमुख सोनिया अधिकारीबाट पनि मिस नेपाल कार्यक्रमका बारेमा आ–आफ्नो विचारहरु राखेका थिए । उक्त कार्यक्रमा पूर्व अध्यक्ष दिवाकर राजकर्णिकारको उपस्थिति रहेको थियो ।

द हिडन ट्रेजरले बर्जर पेन्टस् र नटराज ज्वेलर्सलाई सह–प्रायोजकमा लिएको छ । मिस नेपाल २०२५ को खोजी देशका विभिन्न शहरहरूमा गरिनेछ, जसमा विर्तामोड, नेपालगञ्ज र जनकपुर प्रमुख छन् । यसै अवधिमा काठमाडौंका १० वटा कलेजहरूमा मिस नेपाल एक्टिभेसन क्याम्पेन सञ्चालन गरिनेछ । अन्तिम अडिसन आषाढ २८ गते काठमाडौंमा हुनेछ । छनौट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेको तयारीका लागि ग्रुमिङ कोरियोग्राफर रचना सिंह शर्माद्वारा विशेष प्रशिक्षण प्राप्त गर्नेछन् ।

यसअघिका विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सराहनीय प्रदर्शन पश्चात् स्वदेश फर्किएका छन् । मिस नेपाल इन्टरनेशनल २०२४ करुणा रावतले २०२४ नोभेम्बर १२ मा टोकियो जापानमा आयोजित मिस इन्टरनेशनलमा भाग लिइन् ।

मिस नेपाल अर्थ २०२४ सुमना केसीले नोभेम्बर ९ मा मनीला, फिलिपिन्समा सम्पन्न मिस अर्थ प्रतियोगितामा सहभागिता जनाउँदै सस्टेनेबल ड्रेस विधामा उपाधि जितिन् । यस्तै, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधानले २०२५ मे ३१ मा हैदराबाद, भारतमा सम्पन्न ७२ औँ मिस वल्र्डमा सहभागी भएकी थिइन् । उक्त कार्र्यक्रमको संचालन मेलिना श्रेष्ठले गरेकी थिइन् ।

मिस नेपाल २०२५ को आवेदन दिन वा थप जानकारीका लागि www.missnepal.com.np मा जानुहोस् वा मिस नेपाल मोबाइल एपमा लग इन गरेर भाग लिन सक्नुहुनेछ ।

Sudina Shrestha

प्रकाशित: १२ असार २०८२, बिहीबार ११:०५