बैंकिङ प्रणालीमा समस्या छैन : सुनील केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन नै गर्न नसकिने अवस्था नरहेकाले अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्थामा नदेखिएको बताए । बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात समेत गर्दा १७÷१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणाली मात्रै नभएर अहिले सबै कुनै पनि बैंकमा समस्या नरहेको बताए ।

उनले भने, ‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्। यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ । पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन्। तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’

यसबाहेक ५ लाखसम्मको निक्षेपको बीमा पनि हुने भएकाले पर्याप्त तरलता रहेकाले निक्षेपकर्ता डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । प्रायःजसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको केसीले बताए। उनका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेको छ ।

‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ। २८ प्रतिशत खुद तरल सम्पत्ति छ। यसले बैंकहरूमा तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ,’ उनले भने।

साथै, केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५÷७६ को प्रतिशत हुँदा केहीको ८३÷८४ प्रतिशत रहेको बताउँदै उनले उक्त अनुपात राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनमा धेरै सहज रहेको बताए ।
सीडी रेसियो र तरल सम्पत्ति मात्रै नभएर नेपालका बैंकहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको उनले बताए।

‘दक्षिण एसियाको अन्य मुलुककको तुलनामा नेपालमा निष्क्रिय कर्जा न्यून छ। अन्य मुलुकमा जस्तै नेपालमा पनि केही बढे पनि नेपालको निष्क्रिय कर्जा अनुपात कम छ,’ उनले भने, ‘कर्जा नोक्सानी व्यवस्था पनि दक्षिण एसियाका अन्य देशको भन्दा बढी गरेका छौं। भारतमा निष्क्रिय कर्जा कोभिड पछिको तुलनामा केही घटे पनि नेपालको भन्दा बढी नै छ।’ केसीले खराब कर्जा बढेको तर आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे। छिमेकी मुलुकको तुलनामा नेपालको बैंकिङ क्षेत्रको औसत एनपीएल धेरै कम रहेको उनको भनाइ छ ।

खराब कर्जा बढ्दा बैंकहरूले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याइरहेका छन्। यतिबेला बैंकहरूले २ खर्ब १८ अर्ब यस्तो प्रोभिजन गरेको उनले बताए। खराब कर्जाबापत बैंकहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

तर, पछिल्लो समय बैंकको पैसा तिर्न हुँदैन भन्ने हल्लाले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने उनी बताउछन् । ‘केही व्यक्तिले बैंकबाट लिएको ऋण तिर्न हुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ,’ उनले भने, ‘कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ ।’

उनले थपे, ‘एकातिर अन्य देशको तुलनामा नेपालमा सबैभन्दा कम एफडीआई आउने गर्छ, त्यसमा पनि बैंकहरूको कर्जा नतिर्नेलगायत क्रियाकलपाले समग्र सिस्टममा असर गर्छ।’ त्यसकारण नेपालको बैंकिङ क्षेत्रलाई बचाउन आवश्यक रहेको उनको धारणा छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताए ।

‘बैंकिङ क्षेत्र पारदर्शी छ। पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्यायोचित हुँदैन,’ उनले भने, ‘दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ। बेला—बेलामा आएका भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्या पनि आए। त्यस्तो परिस्थितिमा केन्द्रीय बैंकले विभिन्न सहज गरिदिएको अवस्था थियो ।’

‘परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्न कत्तिको उपयुक्त हुन्छ?,’ उनले प्रश्न गरे। यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: १३ फाल्गुन २०८०, आईतवार ०९:२४