पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको जीप आर्यभन्ज्याङ रामपुर कच्ची सडकबाट खस्दा जीप धनीसमेत रहेका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाका ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अस्पतालमा मृत्यु भएको हो । त्यस्तै जीप चालक ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् ।

उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: ३ असार २०८२, मंगलवार ११:३०