अहमदाबाद विमान दुर्घटना : मृतकको सङ्ख्या २७० पुग्यो

गुजरात । गुजरातको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एयर इन्डिया विमान दुर्घटनामा हालसम्म २७० शव फेला परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये २२९ यात्रु र चालक दलका १२ सदस्य विमानमा सवार थिए भने बाँकी विमानबाहिरका व्यक्ति हुन् ।

विमान दुर्घटना बीजे मेडिकल कलेजको होस्टेलमा भएको थियो, जहाँ ५० भन्दा बढी व्यक्ति रहेको अनुमान छ । होस्टेलमा रहेका ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकमा राजस्थानका १३, मध्यप्रदेश, हरियाणा र बिहारका एक-एक जना रहेका छन्। हालसम्म ७ शव डीएनए परीक्षणपछि आफन्तलाई हस्तान्तरण गरिएको छ ।

गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको शव अझै पहिचान हुन सकेको छैन। मृतकको पहिचानका लागि डीएनए परीक्षण जारी छ । दुर्घटना भएको २७ घण्टापछि विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले शुक्रवार होस्टेलको छतमा ब्ल्याक बक्स फेला पारेको छ । यो ब्ल्याक बक्सले दुर्घटनापूर्व विमानको अन्तिम क्षणको अवस्था र सम्भावित कारणबारे जानकारी दिने अपेक्षा गरिएको छ ।

एयर इन्डियाको बोइङ ७८७९८ ड्रीमलाइनर (उडान नं.AI171) लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको केही क्षणमै मेगनिनगर क्षेत्रमा खसेर ठुलो आगलागी भएको थियो। विमानमा सवार २४२ मध्ये एक जना बेलायती नागरिक विशवासकुमार रमेश मात्र जीवित रहेका छन् । उनले आपतकालीन ढोकाबाट भागेर ज्यान बचाएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार दुर्घटनास्थलको भ्रमण गरी एकमात्र बाँचेकालाई अस्पतालमा भेटेका छन् । गृहमन्त्री अमित शाहले गुजरात सरकार र स्थानीय प्रशासनसँग समन्वय गरी केन्द्रबाट पूर्ण सहयोगको आश्वासन दिएका छन् ।

राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ० का सात टोलीले उद्धार कार्य जारी राखेका छन् । विमानको इन्जिन, फ्ल्याप र ल्यान्डिङ गियरमा केन्द्रित अनुसन्धान सुरु भएको छ । बोइङ विशेषज्ञहरूको टोलीले पनि अनुसन्धानमा सहयोग गर्न अहमदाबाद पुगेको छ ।

यो दुर्घटना दशककै सबैभन्दा ठुलो विमान दुर्घटना मानिएको छ। एयर इन्डियाले पीडितका परिवारका लागि सहायता केन्द्रहरू स्थापना गरेको छ ।

Sudina Shrestha

प्रकाशित: १ असार २०८२, आईतवार १०:३३