रामेछाप । अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई सम्मान गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०८२ को अवसरमा बुधबार रामेछापमा राष्ट्रिय दलित पत्रकार सङ्घले ती जोडीहरूलाई सम्मान गरेको हो ।
अन्तरजातीय विवाह गर्ने रामचन्द्र विक र प्रतिभा बोहोरा, पवन रसाइली र अनिता मगरलगायत जोडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा, नगद र प्रशंसापत्रसहित सम्मान गरे । त्यस अवसरमा बोल्ने अधिकांश वक्ताहरूले सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको १८ वर्ष पूरा भइसके पनि समाजमा विभेद कायमै रहेको बताएका थिए । यसको कार्यान्वयन र व्यावहारिक पक्षका लागि सबैको सहयोग आवश्यक रहने पनि वक्ताहरूको भनाइ थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापका अध्यक्ष नवराज विकले समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूतलाई निस्तेज गर्न अन्तरजातीय विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए । सम्मानितमध्ये अन्तरजातीय विवाह गर्ने रीता खड्काले पवित्र प्रेम र सम्बन्धका अगाडि सामाजिक बन्धन बाधक बन्न नहुने भन्दै आफूहरूले खुसीले नै त्यसलाई चुनौती दिएको बताइन् ।
सम्मानित अनिता मगरले पनि परिवार र समाजका बन्धनबाट माथि उठेर विवाह गरेको तर माइती पक्षले अझै स्वीकार गर्न नसकेको भन्दै दुखमनाउ गरिन् । ’अन्तरजातीय विवाहले हामी त खुसी छौं तर मेरो माइतीसँगको सम्बन्ध भने टुट्यो । उहाँहरूले स्वीकार्नु भएको छैन, यही कार्यक्रममार्फत मेरो माइतीको सम्बन्धलाई पनि सुमधुर बनाई दिन मेरो आग्रह छ,’ उनले भनिन् ।
अन्तरजातीय विवाह गरेकी प्रतिभा बोहोराले भनिन्, ’अन्तरजातीय विवाह गर्दैमा गल्ती गरेको सम्झनुहुन्न । समाजले नराम्रो भन्दैमा केही असर पर्दैन, सबैभन्दा ठूलो कुरा त आफूखुसी हुनुपर्छ । अरुको खुसीका लागि आफ्ना खुसीहरूलाई कतिदिनसम्म दबाएर राख्ने !’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-05
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
