
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।
सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ ।
प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।
सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्तिविशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।
हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकमध्ये एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता हुनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । १८ जना अहिले पनि प्रहरीको फरार सूचीमा छन् ।
राजावादीले १५ चैतमा गरेको प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारका क्रममा छन् ।
यस्तै, तीनकुनेको प्रदर्शनमा १५ निजी घर, ३७ निजी संस्था, दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय, एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । आगजनी र तोडफोडबाट ६९ सवारीसाधनमा क्षति पुगेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ जेष्ठ २०८२, सोमबार ०९:३१
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
