
बनेपा । शब्दयात्रा प्रकाशनले २०८२ सालको पहिलो चरणमा आठ विधाका लागि सम्मान समर्पण गर्ने व्यक्तित्वको चयन गरेको छ । शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ शिक्षासेवी तथा शैक्षिक चिन्तक प्रा. डा. मीनबहादुर विष्ट (प्युठान) मा समर्पण गर्ने भएको छ ।

उहाँले लामो समयसम्म विश्वविद्यालयमा शिक्षा विषयक प्राध्यापन र विद्यावारिधि उपाधिको शोधनिर्देशन गर्नुका साथै आफ्ना उत्कृष्ट शैक्षिक चिन्तनहरू पुस्तकाकार रूपमा नेपाली वाङ्मयमा प्रस्तुत गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी रमेश पौड्याल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो ।

यसै गरी शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ वैज्ञानिक प्रा. डा. राजेन्द्र ज्ञवाली (कपिलवस्तु) मा समर्पण गर्ने भएको छ । उहाँले नेपालमा पाइने जडिबुटीहरूको वैज्ञानिक परीक्षण गरी अर्बुद रोग (क्यान्सर) का कोशिकाहरू नष्ट गर्ने जडिबुटीजन्य वनस्पतिहरूको पहिचान गरेर नेपालको विज्ञान–प्रविधि विधामा हुने अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन रामकृष्ण स्मृति प्रतिष्ठानका तर्फबाट निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो ।

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान’ आयुर्वेदिक चिकित्सक तथा अनुवादक डा. छत्रपति दाहाल (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । उहाँले आयुर्वेदिक चिकित्सकका रूपमा लामो समयसम्म सेवा गर्नुका साथै संस्कृत भाषामा लेखिएका आयुर्वेदसम्बन्धी विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद तथा सम्पादन गरी नेपाली वाङ्मयलाई सुम्पनुभएको छ भने अनुसन्धान पनि गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन भक्तपुरका अग्रज चिकित्सक कालु वैद्यको स्मृतिमा नारायणप्रसाद वैद्य र उहाँका परिवारजन (भक्तपुर) ले गर्नुभएको हो ।

यसै गरी शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ अङ्गदाता, समाजसेवी तथा साहित्यकार लीलादेवी श्रेष्ठ (सङ्खुवासभा) मा समर्पण गर्ने भएको छ । मृगौलाले काम नगरेर मरणासन्न अवस्थामा पुग्नुभएका आफ्ना श्रीमान् प्रा. केदारनाथ श्रेष्ठलाई उहाँले २७ वर्षअघि २०५५ साल जेठ १५ गते आफ्नो मृगौला दान गरेर आदर्श पत्नी र आदर्श दाताको परिचय कायम गर्नुभएको छ एवम् एउटै मृगौलाको भरमा हालसम्म समाजसेवा र साहित्यसेवामा पतिपत्नी नै सक्रिय हुनुहुन्छ ।

उहाँले विभिन्न संस्थालाई भौतिक सम्पत्ति पनि दान गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन अविकसित धुलिखेललाई विकसित धुलिखेल बनाउन नेतृत्व गर्ने समाजसेवी बेलप्रसाद श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो ।

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान’ समाजसेवी प्रतिभा सुवेदी (काठमाडौँ) मा समर्पण गर्ने भएको छ । उहाँले जनस्तरीय संस्थाहरूको गठन र सञ्चालन, प्रशिक्षण, लेखन र प्रकाशन जस्ता विभिन्न विधाहरूबाट निरन्तर सामाजिक अभियान सञ्चालन गरेर नारी चेतना, जागरण, उत्थान र सबलीकरणका लागि लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ । यस सम्मानको कोष व्यवस्थापन काभ्रेपलाञ्चोक जिल्लाका प्रसिद्ध समाजसुधारक हंसराज श्रेष्ठको स्मृतिमा आनन्दराज श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो ।

यसै गरी शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ शिक्षासेवी लोकेन्द्र ढकाल (तेह्रथुम) मा समर्पण गर्ने भएको छ । आफूले अध्यापन गरेका र प्राचार्य भई नेतृत्व गरेका शिक्षण संस्थाहरूको सुसञ्चालन, स्तरोन्नति, शैक्षिक गुणस्तर र भौतिक संरचना निर्माण जस्ता विभिन्न कार्यहरूका लागि आफूलाई सक्रिय बनाएर उहाँले शिक्षालय र शिक्षार्थीहरूको सेवामा आफ्नो सम्पूर्ण क्षमता समर्पण गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान’ साहित्यकार श्रीराम पौडेल ‘उदासी’ (ललितपुर) मा समर्पण गर्ने भएको छ । कवि नन्दिकेश्वर अधिकारी र उहाँका वंशज साहित्यकारका विषयमा अध्ययन–अनुसन्धान गर्ने व्यक्तिलाई उक्त सम्मान समर्पण गरिन्छ । श्रीराम पौडेल ‘उदासी’ ले नन्दिकेश्वर अधिकारीका वंशज साहित्यकार हरि मञ्जुश्रीको प्रथम कथासङ्ग्रह ‘फोरिएको पर्खाल’ माथि विवेचनात्मक अध्ययन गर्नुभएको छ । यस सम्मानको कोष व्यवस्थापन लेखिका गीता मञ्जुश्री अधिकारी (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो ।

यसै गरी शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ लेखक सुदीप अधिकारी (भोजपुर) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित कृतिहरूमध्ये सर्वोत्तम ठहरिएको कृतिका लागि यो सम्मान समर्पण गरिन्छ ।
२०८१ सालमा शब्दयात्रा प्रकाशनबाट २१ वटा कृतिको प्रकाशन गरिएकोमा सुदीप अधिकारीद्वारा लिखित अनुसन्धानात्मक ग्रन्थ ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ लाई सर्वोत्तम कृतिका रूपमा चयन भएको हो । यस सम्मानको कोष व्यवस्थापन कवि कल्याण लम्साल (काठमाडौँ) ले गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई सम्मान गर्ने निर्णय गरेको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २९ बैशाख २०८२, सोमबार ०९:५२