आज बुद्ध जयन्ती

काठमाण्डौ । शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका ठाउँमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत ठाउँमा विशेष कार्यक्रम हुँदैछ । यी ठाउँमा बिहानैदेखि चहलपहल छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

यसैबीच बुद्धको जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाएर सिँगारिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।

मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिने र मूल कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने प्रचारप्रसार समिति ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । त्यस अवसरमा देश तथा विदेशबाट हजारौं श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला हुने अनुमान गरिएको छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: २९ बैशाख २०८२, सोमबार ०९:४१