ललितपुरमा बिजुलीको पोलमा ठोक्किएर कार दुर्घटना हुँदा तीनजना घाइते

काठमाण्डौ । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । गएराति बा १५ च ७६५२ नम्बरको कार दुर्घटना हुँदा कारमा रहेका विशाल बिक, अमरध्वज पौडेल र मुसेस लामिछाने घाइते भएका हुन् ।

घाइते सबैको पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार कारमा चालकसहित चार जना थिए । कार चालक रुपक सापकोटा भने सामान्य घाइते भएका छन् । उनले रक्सी खाएर गाडी चलाएको पाइएकोले प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

कारको ठक्करबाट सडकमा रहेको बिजुलीको पोल भाँचिएको छ । प्रहरीका अनुसार ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल सडकको बीच भागमा रहेकाले दुर्घटना भएको ठाउँमा गाडी आवागमन बन्द गरिएको छ । त्यस क्षेत्रमा आवतजावत गर्नेलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

Sudina Shrestha

प्रकाशित: २२ बैशाख २०८२, सोमबार १०:४९