
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वप्रति शंका नगर्न र विकल्प नखोज्न चेतावनी दिएका छन् । पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत् ओलीले आफ्नो नेतृत्व देश र जनताको हितमा रहेको तर्क गरेका छन् ।
तर पार्टी नेतृत्वको विकल्प खोजिन थालेकोप्रति ओलीले आश्चार्य प्रकट गरे, ‘दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला, केपी ओली बिनाको एमाले ?’
गलत मनसाय राख्नेहरूले आफू बिनाको एमाले कल्पना गरिरहेको ओलीले व्याख्या गरे । ‘तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थे नि,’ ओलीले प्रश्न गरे, ‘तर हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई ।’
पूर्वराष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य र उमेरका कारणले पनि नयाँ नेतृत्व आवश्यक परेको सार्वजनिक तर्क गरेकी थिइन् । ओलीले त्यस तर्कको संकेत गर्दै स्वास्थ्य र उमेरलाई आधार मानेर नेतृत्व परिवर्तनको हतारो नगर्न आग्रह गरे । ‘कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई मेरो स्वास्थ्यको चिन्ता छ’ ओलीले भने, ‘पोहोरपरार बिरामी थिएँ । अहिले बिरामीसिरामी छैन । अब मलाई बुढै देख्नु मन छ भने त २०÷२५ वर्ष पर्खनुस् न बाबा । बुढो नभइ त मान्छे रहनै सक्दैन नि १’
ओलीले उमेरका सन्दर्भ फेरि पनि यसअघि जस्तै आफ्नै पिताको उदाहरण दिए । ‘हतार गरेर हुँदैन, २०÷२५ वर्ष पर्खनुस् । अहिले त मेरो बुवा हिंड्दै हुनुहुन्छ, लौरो नटेकीकनै,’ उनले भने, ‘मलाई बुढो, के भको आँखा होला ? मेरो बुवालाई भने हुन्थ्यो होला बरु ।’
उमेर र स्वास्थ्य दुवै हिसाबले पार्टी नेतृत्व छोड्ने बेला नभएको तर्क गरेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई अप्रत्यक्ष चुनौती पनि दिए, ‘एक दिन हाफ म्याराथुन स्याराथुन राखौं कि क्या हो ?’
आफूले सकेसम्म कञ्जुस्याई नगरिकन नेतृत्व गर्ने ओलीले दाबी गरे । नेतृत्व फेर्ने समय नभएको तर्कसँगै ओलीले नेता–कार्यकर्तालाई आत्मविश्वास बलियो बनाउन आग्रह पनि गरे ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० बैशाख २०८२, बुधबार ०९:१७
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
