आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै दिउसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो साढे २ बजे बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ९ बैशाख २०८२, मंगलवार ०८:०८