
काठमाडौँ । अब सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्था र सहकारी बैङ्कबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशत मात्र ऋण लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले ल्याएको ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’ मा यस्तो व्यवस्था गरेको हो ।
नयाँ मापदण्ड अनुसार ऋण लिँदा पुँजीकोषको शतप्रतिशतभन्दा बढी ऋण लिन नपाइने भएको छ । नयाँ मापदण्डमा संस्थाले प्रतिसदस्य बचत गर्न सक्ने सङ्कलनको समेत सीमा तोकिएको छ । जस अनुसार एक जिल्ला कार्य क्षेत्र भएकोमा १० लाख, एकभन्दा बढी जिल्ला भएकोमा २५ लाख र एक प्रदेशभन्दा बढी कार्य क्षेत्र भएकोमा ५० लाखको सीमा तोकिएको छ ।
गत पुस १४ गतेअघि कायम भएको बचतको हकमा भने उक्त मितिबाट दुई वर्षभित्र सीमा कायम गरिसक्नुपर्ने भएको छ । सदस्यले १० लाखभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य स्रोत खुलाउनुपर्ने भएको छ ।
नयाँ प्रावधान अनुसार सहकारी संस्थामा सदस्यता लिएको तीन महिना नपुगेसम्म सदस्यलाई ऋण लगानी गर्न नपाइने भएको छ । संस्थाले प्रतिसदस्य प्राथमिक पुँजीको अधिकतम १५ प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नसक्ने प्रावधान पनि ल्याइएको छ ।
त्यसै गरी संस्थाले सदस्यको बचत सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म मात्र ऋण प्रवाह गर्न सक्नेसमेत प्रावधान राखिएको छ । संस्थाले ऋणी सदस्यलाई परियोजनाको सुरक्षणमा प्रवाह गरिएका ऋणमा कुल परियोजना लागतको ८० प्रतिशतसम्म मात्र किस्ताबन्दीमा ऋण प्रवाह गर्न सक्ने भएको छ ।
बचत र ऋणको ब्याजदरको अन्तर छ प्रतिशतभन्दा बढी हुन नपाइने नियम ल्याइएको छ । ब्याजदर गणना गर्दा बचत र ऋणको भारित औसत ब्याजदरलाई आधार मान्नुपर्ने छ । संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ, सोही बराबर मात्र बिनाधितो ऋण प्रवाह गर्न सक्ने प्रावधान राखिएको छ ।
यसरी ऋण दिँदा कम्तीमा दुई सदस्यको जमानी लिनुपर्ने भएको छ । सञ्चालकलाई भने ऋण लिन नपाउने प्रावधान राखिएको छ । विशिष्टीकृत संस्थाबाहेक ठुलो कारोबार गर्ने संस्थाले कुल ऋणको न्यूनतम ५० प्रतिशत कृषि, उद्योग र व्यवसाय सञ्चालनरविस्तारलगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्ने भएको छ । यो सीमा पूरा गर्न २०८३ असार मसान्तसम्मको समय दिइएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ चैत्र २०८१, आईतवार ०८:२६
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
