काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जीडीपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो ।
कार्यालयका अनुसार दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन् ।
यस अवधिमा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ । कुल १८ वटा औद्योगिक क्षेत्रमध्ये विद्युत् तथा ग्यास क्षेत्रमा चार दशमलव आठ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा दुई दशमलव सात प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ ।
मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४ दशमलव दुई प्रतिशत वृद्धिदर रहेको छ भने खानी तथा उत्खनन क्षेत्र नौ दशमलव पाँच प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।
यसैगरी निर्माण सामग्रीहरूको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर नौ दशमलव एक प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
उत्पादनमूलक उद्योगको वृद्धिदर सात दशमलव चार प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिका कारण वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर छ दशमलव छ प्रतिशत हुने अनुमान गरिएको छ ।
व्यापार क्षेत्रको वृद्धिदर छ दशमलव एक र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर चार दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । देशको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्रका रूपमा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण केही विस्तार देखिएको उल्लेख छ ।
यस्तै औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ । दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-27
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
