
काठमाण्डौ । चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले सरकारी आठौं तहका चिकित्सको सरह अर्थात् ४८ हजार ७ सय रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
अहिले निजी मेडिकल कलेजले मासिक २० हजार रुपैयाँ निर्वाह भत्ता दिँदै आएका छन् । पोस्ट ग्राजुएट तहका विद्यार्थीले समान सुविधाका लागि आन्दोलन जारी राखेको र आयोगका परीक्षासमेत प्रभावित हुने स्थितिमा प्रधानमन्त्री ओलीको अग्रसरतामा समस्या समाधानको पहल भएको हो ।
बैठकमा निजी मेडिकल कलेज एसोसिएशनका अध्यक्ष प्रा। डा। ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गर्नुभएको थियो तर आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र सहअध्यक्षद्वय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने बताउनुभयो ।
बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामको सम्झौता गर्न नमान्ने विद्यार्थीसँग कुल २३ लाख रुपैयाँ शुल्क लिने विषयमा पनि छलफल गरेको छ । यसैबीच नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आयोगको निर्णयलाई स्वागत गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ माघ २०८१, शुक्रबार १८:०६