युएसएआइडीले विश्वभर रहेका आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

काठमाडौं । अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीले विश्वभरमा रहेका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको छ । युएसएआइडीले आफ्नो वेभसाइटमार्फत सूचना जारी गरेर विश्वभरका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको हो ।

युएसएआइडीको वेभसाइट एक साता अघि बन्द भएको थियो । युएसएआइडीले विशेष रूपमा तोकिएको तथा नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण जिम्मेवारीमा सम्हालिरहेकाहरूको हकमा भने बिहीबारसम्म निर्णय गर्ने जनाएको छ । बाँकी कर्मचारीहरूलाई बिदा दिने र उनीहरूसँगको करार सम्झौता रद्द गरिने सूचनामा उल्लेख छ ।

युएसएआइडीको कर्मचारी रही देशबाहिर काम गरिरहेका अमेरिकीहरूलाई ३० दिनभित्र अमेरिका फर्किए संस्थाले खर्च ब्यहोर्ने जनाएको छ । तत्काल फर्कन नमिल्ने अवस्थामा रहेकाहरुबारे पनि संस्थाले बिचार गर्ने र अर्को सूचना जारी गर्ने युएसएआइडीले जनाएको छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि युएसएआइडीको भविष्य अनिश्चित बनेको हो । युएसएआइडी अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था हो । विश्वभर यसका लगभग १० हजार भन्दा बढी कर्मचारी छन् । पूर्वराष्ट्रपति जो बाइडेनले युएसएआइडीका प्रमुखलाई राष्ट्रिय सुरक्षा परिषदमा राखेका थिए ।

युएसएआइडीले संसारभरका कैयन् मुलुकमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ । युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ ।

यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षकालागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता दिने घोषणा गरेको थियो । तर, ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेलगत्त सबै किसिमका विदेश सहायता बन्द गर्ने घोषणा गरेका थिए ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: २४ माघ २०८१, बिहीबार ०९:१०