
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएपी) र काठमाडौं क्यान्सर सेन्टरले एक कार्यक्रमबीच मंगलबार ‘वल्र्ड क्यान्सर डे’ मनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा नक्सालस्थित होटल होलिडेमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्व, पत्रकार, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयुक्तरुपमा उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेल र उपसभामुख राना मगरले क्यान्सर रोग निवारण तथा नियन्त्रणबारे आफ्नो धारणा राखेका थिए । स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर रोकथाम तथा समयमै उपचारका लागि सरकारले नीति तथा कार्यक्रमहरू अगाडि बढाइरहेको उल्लेख गरे ।

उनले क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल सरकारले क्यान्सर रोग निवारण तथा रोकथामको सन्दर्भमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । र, अझै गर्न धेरै बाँकी छ ।’ उनले नेपालमा क्यान्सर रोगबाट दैनिन चार जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको पनि जानकारी दिए ।

यस्तै, उपसभामुख राना मगरले क्यान्सर पीडितहरूको सेवाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन् । उनले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सरकार, गैरसरकारी संस्था तथा जनसाधारणले हातेमालो गर्नुपर्नेमा जोड दिइन् । उनले नेपालमा क्यान्सर रोगबारे चेतना जोगाउन आवश्य बताउँदै नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सर निवारण तथा रोकथामबारे गर्दै आएको क्रियाकलापको प्रशंसा गरिन् ।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आधिकारिक वेबसाइटसमेत लन्च गरिएको थियो । वेबसाइटको प्रमुख अतिथि स्वास्थ्यमन्त्री पौडेल र उपसभामुख राना मगरले शुभारम्भ गरेका थिए । उक्त वेबसाइटले क्यान्सरसम्बन्धी जानकारी, रोकथामका उपाय, उपचारका विधि, प्रतिष्ठानका गतिविधि तथा विभिन्न अनुसन्धानहरू उपलब्ध गराउने बताइएको छ ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सिमित सापकोटाले मिडिया अन्तक्र्रियाको क्रममा क्यान्सरसम्बन्धी विभिन्न जिज्ञासाहरूको जवाफ दिएका थिए । उनले क्यान्सरको रोकथाम, शीघ्र पहिचान, उपचार प्रविधि र सरकारी सहकार्यबारे महत्त्वपूर्ण जानकारी दिएका थिए ।
कार्यक्रममा क्यान्सर रोकथाम तथा उपचारमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । ‘इन्स्पायरिङ युथ २०२५’ अवार्डबाट अबिनाश खत्री र सुष्मा भण्डारी सम्मानित भए भने ‘वुमन अफ इन्स्पिरेशन २०२५’ को सम्मान देविका बन्दानाले प्राप्त गरिन् ।
यस्तै, क्यान्सर उपचारमा सहयोग पुर्याउने विभिन्न संस्थाहरू जे एन्ड जे एकेडेमी, मिराकल स्किन, करुना सिटी क्लिनिक, चिरायू अस्पताल, ओम समाज डेन्टल, नेपाल सिनियर केयर, आरवन टेक आदि रहेका थिए ।
यस्तै, गायिका देविका बन्दानालाई विशेष सम्मान गरिएको थियो । साथै, मिस नेपाल वल्र्ड २०२४ अस्मा कुमारी केसी, मिस नेपाल अर्थ २०२४ सुमना केसी, मिस नेपाल इन्टरनेशनल २०२४ करुणा राउत र मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानी जोशी लाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा। सिमित सापकोटा, वरिष्ठ सञ्चारकर्मी निर्णय श्रेष्ठ , समाज सेवी दिवाकर राजकर्णिकर लगायतको उपस्थिति थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ माघ २०८१, मंगलवार २१:०९
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
