काठमाडौं । काठमाण्डौको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मेयर बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्मा कोलनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको अख्तियारको आरोप छ ।
बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ भएको जग्गा पद्मा कोलनीले जग्गाधनीलाई १८ करोड ९४ लाख १८ हजार चार सय ४८ रुपैयाँ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी कुल २३ करोड २२ लाख २७ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।
यस कार्यमा मेयर बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको अख्तियारको आरोप छ । अख्तियारका अनुसार मेयर बस्नेत र श्रीमती उर्मिला बस्नेतको खातामा दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रुपैयाँ रकम जम्मा गरेको पाइएको छ ।
यस्तै छ करोड ८२ लाख रुपैयाँ बराबरको जग्गा र वैवाहिक भोज गर्दा २४ लाख ७२ हजार छ सय ३७ रुपैयाँ बराबरको रकमसमेत पद्मा कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।
अख्तियारले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मेयर बस्नेत, श्रीमती उर्मिला बस्नेत, पद्मा कोलनीका सञ्चालक कँडेलविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि मेयर बस्नेत, श्रीमती उर्मिला र पद्मा कोलनीका सञ्चालक कँडेलविरुद्ध १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-30
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
