काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिकरूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ ।
आइतबार जरिवाना पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो । भौतिक रूपमा पत्र नबुझेपछि महानगरले सोमबार इमेल र हुलाकमार्फत पत्र पठाएको हो ।
महानगरले पत्र पठाउँदा लागेको टिकटमा लागेको खर्च समेत एमालेलाई पठाएको छ । महानगरका अनुसार अर्जेन्ट (एक्सप्रेस) पत्र पठाउँदा ७० रुपैयाँको टिकट लागेको छ । जुन रकमको विल पनि महानगरले एमालेलाई नै पठाएको छ ।
‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौँ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले भने ।
एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्दा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर, एमालेले भने काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेविरुद्ध ‘राजनीतिक स्टन्ट’ गरेको आरोप लगाएको छ ।
कार्यक्रम सकेलगत्तै त्यसस्थानको फोहोर पार्टीका स्वयंसेवकहरूले जम्मा पारेर महानगरलाई ट्रक पठाउन आग्रह गरेको तर महानगरले ट्रक पठाउनुको साटो जरिवानाको पत्र सार्वजनिक गरेको भन्दै मेयर बालेन साहप्रति एमालेले आक्रोश पोखेको छ । तर, महानगरले भने जरिवाना जसरी पनि उठाउने बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
