काठमाडौं । नेपाल विद्युत् प्राधिकरणविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मङ्गलबार सर्वोच्चका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले प्राधिकरण प्रधान कार्यालय र वीरगन्जस्थित प्राधिकरण शाखा कार्यालयविरुद्ध हिमाल आइरन स्टिलले दायर गरेको रिट खारेज गरिदिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइन महसुलबापतको प्रिमियम रकम भन्दै उद्योगमा पठाएको बिल उपयुक्त नभएको र सो बिल खारेज गराउन उत्प्रेषण आदेश माग गर्दै कम्पनीले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइकेलका अनुसार रिटमा मागदाबी नपुगेको देखिएकाले खारेज गरिएको बताएका छन् ।
सर्वोच्चको यो फैसलासँगै विपक्षीले उद्योगसँग महसुल असुलीको करबाही अगाडि बढाउन पाउने भएको छ । यो रिट खारेज भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले जारी गरेका बिलमा उद्योगीले उठाउँदै आएको प्रश्न पनि मेटिएको टिप्पणी गरेका छन् । “डेडिकेटेड र ट्रङ्कलाइन महसुलको प्रिमियम बिलबारे उद्योगीले लगाउँदै आएको आरोप सम्मानित सर्वोच्च अदालतले मिथ्या प्रमाणित गरिदिएको छ,” उनले भनेका छन् । प्राधिकरणले सप्रमाण बिल जारी गरेको दाबी गर्दै यस्ता बाँकी बक्यौता उठाउन कटिबद्ध रहेको उनले बताएका छन् ।
ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हिमाल आइरन स्टिल्सको प्रिमियमबापतको १३ करोड ६५ लाख रुपियाँ प्राधिकरणले असुल गर्नुपर्ने छ । यो रकम विवादित तीन अवधिमध्ये मन्त्री परिषद्को गत वैशाख २७ गतेको निर्णयबमोजिम प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको हो ।
प्राधिकरणले कात्तिक ८ गते राति यस्तै प्रिमियम महसुल भुक्तान नगरेको भन्दै ३४ वटा उद्योगको लाइन काटेको थियो । महसुल तिर्न बाँकी ४९ वटा उद्योगमध्ये छ वटा उद्योगले सोही दिन नै महसुलको पहिलो किस्ता तिरेपछि लाइन काटिएको थिएन । सात वटा उद्योगका मुद्दा जिल्ला अदालत पर्सामा विचाराधीन छ । लाइन काटिएपछि सर्वोत्तम सिमेन्टसहितका छ वटा उद्योगले किस्ताबन्दीमा महशुल तिर्न थालेपछि विद्युत् आपूर्ति सुचारु गरिएको छ ।
यस्तै महशुल नतिरेका दुई सरकारी उद्योग उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टले प्रिमियमबापतको महशुल किस्ताबन्दीमा तिर्न सहमत भइसकेका छन् । अब लाइन काटिएका उद्योगको सङ्ख्या २८ रहेको छ । हिमाल आइरनको पनि विद्युत् आपूर्ति काटिएको थियो ।
उद्योगहरूको लाइन काटिएकै अवधिमा यही कात्तिक १४ गते नियामक विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्ति विच्छेद भएका उद्योगलाई किस्ताबन्दीको सुविधा दिन र सोअनुसार रकम भुक्तान गरेमा विद्युत् सुचारु गरिदिने आशयसहितको पत्राचार गरेको थियो । प्राधिकरणले गत असोज २४ गते सार्वजनिक सूचनामार्फत ४९ वटा उद्योग र तीनले तिर्नुपर्ने बक्यौता विवरण खुलाएर १५ दिने अवधि दिएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ कार्तिक २०८१, बिहीबार ०९:३१
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ : ताल न बेताल, बेतको लौरी
रोटरी क्लब अफ बागमती काठमाडौंद्वारा करीब ६५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति अनिशा खत्रीलाई
शब्दयात्रा प्रकाशनले साहित्यकार तथा पत्रकार आर. सी. विरहीलाई सहयोग गर्ने
नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान (विश्व कीर्तिमानी)बाट स्थापित पुरस्कारहरु (सूची)