
काठमाण्डौ । दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनिएको हो ।
आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने छ ।
सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच तथा गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायतमा प्रतिकिलो सात रुपैयाँ छुट पाइने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डीडीसी घ्यूमा प्रतिलिटर १० रुपैयाँ छुट पाइनेछ । यस्तै च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिने तयारी छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाण्डौ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । काठमाण्डौ उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ । साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।
दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आउँदो कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ । चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ भाद्र २०८१, बिहीबार ०८:४३
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
