काठमाडौं । नेपालको थप बिजुली भारतले किन्ने भएको छ । अन्तरदेशीय व्यापारका लागि भारतले नेपालका १२ जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको हो । थप विद्युत् निर्यातसँगै भारतबाट कुल स्वीकृति पाएको विद्युतको परिमाण कुल २८ जलविद्युत् आयोजनाबाट ९४१ मेगावाट पुगेको छ ।
यसअघिको स्वीकृत परिमाण ६९० मेगावाट थियो, जुन १६ जलविद्युत् आयोजनाबाट लिइएको थियो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको छ ।
१० जलविद्युत् आयोजनाहरूबाट उत्पादित १२५ मेगावाट विद्युत् बिहारलाई र २ जलविद्युत् आयोजनाहरूबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीहरूलाई बिक्री गरिनेछ । प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिनेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ ।
आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युतको बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । गत वर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) थियो । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू प्राधिकरणले बेहोर्नु पर्ने छैन ।
नेपाल विद्युत् प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँग अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने बताए । उनले स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको उल्लेख गरे । साथै, थप २०० मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको र छिट्टै स्वीकृति पाउने जानकारी दिए । घिसिङले चालू आर्थिक वर्षमा २५ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको बताए ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज –आईएक्स) को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ । भारतबाट स्वीकृति पाएसँगै अब बिहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ ।
विद्युत् बेचेर नै प्राधिकरणले १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेकोे छ । गत आर्थिक वर्षमा प्राधिकरणले १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरेको थियो । सोही वर्ष १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ । सुक्खायाममा नदीमा पानीको बहाव घट्ने हुन्छ । यसले हाम्रा आन्तरिक उत्पादनका प्रायः अधिकांश आयोजना नदी प्रवाहमा आधारित भएकोले विद्युत् उत्पादन क्षमताको करिब ३० प्रतिशतमा झर्ने हुन्छ ।
सुक्खायाममा आन्तरिक विद्युत्को मागलाई धान्न भारतबाट बिजुली आयात गरिँदै आइएको छ । गत आवमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । यसैगरी, ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युतको खुद निर्यातकर्ता बनेको छ ।
नेपालमा विद्युत खपत करिव प्रति युनिट् १२ रुपैयाँ देखि माथि रहेको छ । भारतलाई दिएको दर–रेटमा सोही विजुली नेपालमा खपत गर्न दिएमा घरायसी कार्यमा विजुलीको प्रयोग बढ्ने थियो र ग्यासको खपत् कम हुने थियो । यस्मा सरकारले तत्कालिन ध्यान दिन जरुरी भइसकेको छ ।
ठूला–ठूला उद्योग व्यापारिहरुले विजुलीको रकम तिर्दैन भनेर जुन प्रचारमा आएको छ, त्यो सत्य हो । भोलि गएर ति व्यापारिहरुले चलाएको होटेलहरुले पनि रकम तिर्दैनन् । नेपाल विद्युत प्रधिकरणले जुन–जुन उद्योगहरु रकम तिर्दैन त्यस्ता उद्योगहरुमा मिटर राखेको ठाउँमा सिसी क्यामेरा जडान गर्ने र महिना–महिनामा विजुलीबाट उठेको रकमहरु प्राधिकरणले प्रमाणको लागि राख्नु जरुरी भइसक्यो । भोलि गएर ती मिटर नष्ट र जलाउन सक्छ । विजुलीको रकम तिर्न मिटर रिडिङ्गको प्रमाण नै नष्ट भइसकेको हुन्छ । रकम तिर्न अनि जहिले खिचलो भइरहन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ भाद्र २०८१, मंगलवार १०:३०
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ : ताल न बेताल, बेतको लौरी
रोटरी क्लब अफ बागमती काठमाडौंद्वारा करीब ६५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति अनिशा खत्रीलाई
शब्दयात्रा प्रकाशनले साहित्यकार तथा पत्रकार आर. सी. विरहीलाई सहयोग गर्ने
नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान (विश्व कीर्तिमानी)बाट स्थापित पुरस्कारहरु (सूची)