काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको बताइएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
विमानमा रहेका १९ जना नै सौर्य एअरलाइन्ससँग सम्बन्धित रहेका छन् । शुरुमा सौर्य एअरलाइन्सले सबै जना कम्पनीमै आबद्ध व्यक्ति रहेका बताएको थियो । तर विमानमा रहेकी महिला र नाबालक सौर्य एअरलाइन्सका एक कर्मचारीका श्रीमती र छोरा रहेका खुलेको छ । १७ जना भने सौर्य एअरलाइन्सका चालकदल, व्यवस्थापक एवम् प्राविधिक रहेका छन् ।
विमानमा को–पाइलट सुशान्त कटुवाल, चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा रहेका एअरलाइन्सले जनाएको छ ।
त्रिभुवन विमानस्थलबाट आज बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान भुइँ छाडेलगत्तै दुर्घटनामा परेको थियो । उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर बजारिएको थियो । दुर्घटनामा परेको विमान ‘सी–चेक’ अर्थात् नियमित मर्मतका लागि पोखरा जान लागेको थियो ।
सौर्य एअरलाइन्सले पोखरा विमानस्थलमा रहेको ह्याङ्गर आजदेखि एक महिनाका लागि मागेर प्राविधिकसहित पोखरा लैजान लागेको पोखरा विमानस्थलको कार्यालयले जनाएको छ । पोखरामा तीन वटा विमान अटाउने ह्याङ्गर छ । जसमा यति एअरलायन्सले एउटा विमान यस्तै मर्मतका लागि राखेको छ । नेपालमा त्रिभुवन विमानस्थल, पोखरा विमानस्थल र नेपालगञ्जमा ह्याङ्गर छन् । ह्याङ्गरमा राखेर विमान मर्मत गरिन्छ ।
‘सी–चेक’ भन्नाले विमान बिग्रिएको वा उडाउनै नमिल्ने भन्ने नभई नियमित मर्मत–सम्भार हो । हरेक विमानको डेढदेखि दुई वर्षमा ‘सी–चेक’ गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जहाजका सिटलगायतका धेरैजसो ‘पार्ट’ खोलेर जोड्नुपर्ने भएकोले प्राविधिकको ठूलो समूह संलग्न हुन्छ । आजको दुर्घटनासँग यो मर्मतको सम्बन्ध नरहने जानकारहरू बताउँछन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ श्रावण २०८१, बुधबार १८:३१
नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान (विश्व कीर्तिमानी)बाट स्थापित पुरस्कारहरु (सूची)
देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै
दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि साइबर ब्यूरो पठाइयो
अवैध आप्रवासीलाई देश निकाला गर्ने राष्ट्रपति ट्रम्पको योजना
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा स्थापित पुरस्कार (सूची)