काठमाडौँ । गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदेह मारिएका छन् । यसअघि हमासको सैन्य शाखाका पूर्व कमाण्डर पनि यस्तै इजरायली आक्रमणमा मारिएका थिए ।
स्थानीय स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीका अनुसार गाजा सहरको अत्यधिक भीडभाड हुने आवासीय क्षेत्रमा रहेको एक भवनमा आक्रमण हुँदा कम्तीमा तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।
इजरायली सेना र सुरक्षा निकायले ओदेह लुकेर बसेको आश्रयस्थलका रूपमा प्रयोग भइरहेको भवनलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । उनको गतिविधिमाथि धेरै महिनादेखि निगरानी गरेपछि उक्त कारबाही गरिएको हो । हमासले घटनाबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । तर हमास निकट एक स्थानीय र परिवारका सदस्यले ओदेह, उनकी पत्नी र उनका वयस्क छोरा आक्रमणमा मारिएको बताएका छन् । आक्रमण भएको समयमा ईद–उल–अजहाको तयारीका लागि बजार क्षेत्रमा किनमेल गर्नेको भीड रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भवनमाथि फरक–फरक दिशाबाट एकैपटकजस्तै कम्तीमा पाँच वटा क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको इजरायली जवाफी कारबाहीमा हालसम्म ७२ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघले गाजा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई विश्वसनीय मानेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-27
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
