काठमाडौँ । विश्वकै सबैभन्दा शक्तिशाली मानिने ‘स्टारशिप’ रकेटको नयाँ तथा ठूलो संस्करण (भी–३) को पहिलो परीक्षण सफलतासँगै केही प्राविधिक चुनौतीहरू देखिएको छ ।
टेक्सासको दक्षिणी भागमा रहेको स्टारबेस प्रक्षेपण केन्द्रबाट उडान भरेपछि रकेटको इन्जिनमा समस्या देखिएको थियो । जसका कारण रकेट नियन्त्रण गुमाउने जोखिमसमेत उत्पन्न भएको थियो । तर करिब एक घण्टापछि स्टारशिप अन्तरिक्ष यान हिन्द महासागरमा सुरक्षित अवतरण गर्न सफल भयो ।
यो परीक्षण स्टारशिप शृंखलाको १२औँ परीक्षण हो भने भी–३ संस्करणको पहिलो परीक्षण थियो । नेपाली समयअनुसार यो प्रक्षेपण शनिबार बिहान गरिएको हो ।
एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको यो रकेट ‘स्टारशिप’ र ‘सुपर हेभी बूस्टर’ मिलेर बनेको हो, जसको कुल उचाइ ४०३ फिट छ । यो पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट हो ।
परीक्षणका क्रममा ‘सुपर हेभी बूस्टर’ आफ्नो नियन्त्रित अवतरण प्रक्रिया पूरा गर्न असफल भयो । बूस्ट–ब्याक बर्न प्रक्रिया अधुरो रहेपछि बूस्टर पानीमा नियन्त्रित रूपमा अवतरण हुन सकेन ।
मुख्य स्टारशिप अलग भएपछि पनि अर्को समस्या देखियो । यसको ६ मध्ये ५ मात्र इन्जिन सुरु हुन सके, जसका कारण यो पूर्ण रूपमा निर्धारित कक्षीय मार्गमा पुग्न सकेन ।
यद्यपि यसको उडान सुरक्षित सीमाभित्र रहेकाले यो सब–अर्बिटल उडान पूरा गर्न सफल भयो । तर इन्जिन पुनः परीक्षण गर्ने अर्को चरण भने पूरा हुन सकेन ।
यो परीक्षणको मुख्य उद्देश्य रकेटलाई प्रक्षेपण, अलग हुने प्रक्रिया, इन्जिन पुनः सञ्चालन र समुद्रमा तोकिएको स्थानमा सुरक्षित अवतरणसम्मको सम्पूर्ण प्रणाली परीक्षण गर्नु थियो ।
यसअघि स्टारशिपको ११औँ परीक्षण २०२५ अक्टोबर १४ मा गरिएको थियो, जसमा सुपर हेभी बूस्टर अमेरिकाको खाडी क्षेत्रमा पानीमा अवतरण भएको थियो भने स्टारशिप हिन्द महासागरमा अवतरण भएको थियो । १०औँ परीक्षण २०२५ अगस्ट २७ मा सफल भएको थियो, जसमा स्टारलिङ्क सिमुलेटर उपग्रहहरू अन्तरिक्षमा छोड्ने र इन्जिन सञ्चालनजस्ता सबै लक्ष्य पूरा भएका थिए ।
त्यसअघि २०२५ जुन २९ मा हुने भनिएको परीक्षण स्थिर परीक्षणका क्रममा भएको विस्फोटका कारण असफल भएको थियो । उक्त घटनामा रकेटको माथिल्लो भागमा अचानक विस्फोट भई सम्पूर्ण संरचना आगोमा जलेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-23
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
