निगमका पूर्वमहाप्रबन्धक सुगरत्न कंसाकार भन्छन्- निगमलाई खुरुखुरु काम गर्न दिएको भए अहिले निगमसँग १५/१६ वटा विमान हुन्थ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमका पुर्वमहाप्रबन्धक सुगरत्न कंसाकारले ‘हवाइ माफिया’का कारण निगम आफूले सोचेजस्तो माथि उठ्न नसकेको बताएका छन् । कंसाकारले आफू महाप्रबन्धक कुर्सीमा बसेको पाँच महिना पछि ६ वटा जेट विमान (२ वटा वाइडबडी र ४ वटा न्यारोबडी) खरिद गर्न पहिलोपल्ट ग्लोबल टेण्डरको सुचना प्रकाशित गर्ने जमर्को गरेको स्मरण गर्दैै भनेका छन्, ‘तर, हवाइ माफियाले निगमको fleet expansion project मा भाँजो हाल्यो र मलाई जेलसम्म पुर्यायो ।’

कंसाकार २०६५ सालमा पहिलो पल्ट निगमको महाप्रबन्धक पदमा नियुक्त भएका थिए । उनी महाप्रबन्धक भएकै बेला निगमले जहाज ल्याउन टेण्डर आह्वान गरेको थियो ।

कंसाकारले भने, ‘१७ वर्ष पहिले २०६५ सालमा म पहिलो पल्ट निगमको महाप्रबन्धक पदमा नियुक्त भएको केही दिनपछि कर्मचारीहरुलाई दिएको एक भाषणमा मैले भनेको– ‘भोलिदेखि हरेक दिन बिहान उठ्नेवित्तिकै एकछिन आँखा चिम्लेर नेपालको झण्डा चिन्ह भएको निगमको दशवटा जेट विमान त्रिभुवन विमानस्थलमा लाइन लागिरहेको हामी सबैले कल्पना गरौँ । त्यसको लागि हामी सम्पूर्ण कर्मचारी आजैदेखि दत्तचित्त भएर काममा लागौँ !’ अनि म महाप्रबन्धको कुर्सीमा बसेको ठीक पाँच महिनापछि ६ वटा जेट विमान (२ वटा वाइडबडी र ४ वटा न्यारोबडी) खरिद गर्न निगमको इतिहासमा पहिलो पल्ट ग्लोबल टेण्डरको सुचना प्रकाशित गर्ने जमर्को गरेँ । त्यो टेण्डरपछि निगमलाई खुरुखुरु काम गर्न दिएको भए अहिले निगमसँग १५/१६ वटा जेट विमान भएर नेपालको जहाज एशियाको विभिन्न सहर र युरोप अमेरिका अष्ट्रेलिया पुग्ने निश्चित थियो । तर, निगमले आफ्नो संजाल बढाएर व्यापार बढाउन लाग्यो भनेर त्रसित भएर ‘हवाई माफिया’ले निगमको] fleet expansion project मा भाँजो हाल्यो, “हवाई माफिया” ले मलाई जेल सम्म पुर्यायो ।’

आफू महाप्रबन्धक हुँदा ताका टेन्डरबाट ल्याइएको दुई वटा न्यारोबडी त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्दा र पानीको फोहराबाट स्वागत गरेको फोटो हेरेपछि जेल जानु परे पनि आनन्द महसुस भएको उनले बताएका छन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-05-06