काठमाडौँ । अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धलाई दुई महिना पूरा भएको छ। फेब्रुअरी २८ बाट सुरु भएको यो संघर्षलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवातमा छोटो र निर्णायक भनेका थिए, तर अहिले अवस्था उल्टो देखिएको छ ।
युद्ध औपचारिक रूपमा रोकिएको जस्तो देखिए पनि पूर्ण रूपमा अन्त्य भएको छैन । यस अवधिमा इरानका ३ हजार ६ सयभन्दा बढी मानिसको ज्यान गएको छ, जसमा १ हजार ७ सयभन्दा बढी सर्वसाधारण छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका मुख्य अर्थशास्त्री पियरे ओलिभियर गोरिन्शासले चेतावनी दिँदै युद्ध लम्बिएर तेलको मूल्य उच्च रहिरहे विश्व आर्थिक वृद्धिदर करिब २ प्रतिशतसम्म झर्न सक्ने चेतावनी दिएका छन्, जसलाई सामान्यतया विश्व मन्दीको संकेत मानिन्छ ।
कोषका अनुसार युद्धअघि यस वर्ष विश्वव्यापी मुद्रास्फीति ४.१ प्रतिशतबाट घटेर ३. ८ प्रतिशत पुग्ने अनुमान गरिएको थियो । तर अहिले यो ४.४ प्रतिशतसम्म पुग्ने देखिएको छ । अमेरिकी अर्थशास्त्री लिण्डा बिल्म्सका अनुसार यो युद्धमा अमेरिकाले करिब १ ट्रिलियन डलर खर्च गरेको अनुमान छ, जबकि अमेरिकी सरकारले भने २५ अर्ब डलर खर्च भएको जनाएको छ ।
यस युद्धबाट चीन र रुसलाई फाइदा पुगेको देखिएको छ। चीनले पहिले नै तेलको भण्डारण बढाएको र वैकल्पिक ऊर्जामा लगानी गरेका कारण तुलनात्मक रूपमा बलियो अवस्थामा छ । साथै, अमेरिकाको छवि कमजोर हुँदा चीनलाई कूटनीतिक लाभ भएको छ । चीनका तेल तथा ग्यास कम्पनीहरूले पनि ठूलो नाफा कमाइरहेका छन् । रिपोर्टअनुसार ६ ठूला कम्पनीले यस वर्ष ९४ अर्ब डलरसम्म आम्दानी गर्न सक्ने अनुमान छ । रुसले पनि तेल र मलको मूल्य बढ्दा बढी आम्दानी गरिरहेको छ । तेल आपूर्ति बढाउन अमेरिकाले केही समयका लागि रुसमाथिको प्रतिबन्ध खुकुलो बनाउँदा उसलाई थप लाभ पुगेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार मार्चमा रुसको ऊर्जा आम्दानी दोब्बर भएर १९ अर्ब डलर पुगेको छ ।
विश्लेषकहरूले यो युद्धमा स्पष्ट विजेता कोही नभएको बताएका छन् । ब्रुकिङ्स संस्थाका मेलानी सिसनका अनुसार अमेरिकाले पनि रणनीतिक रूपमा ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । यसको असर इरान, लेबनान, खाडी देशहरूदेखि भारतसम्म विश्वभरका जनतामा परेको छ।
इरान सरकारले आन्तरिक विरोधमाथि कडाइ बढाएको छ। यस वर्षको सुरुदेखि अहिलेसम्म ६ सयभन्दा बढीलाई मृत्युदण्ड दिइएको छ । देशमा आठ सातादेखि इन्टरनेट अवरुद्ध छ र अर्थतन्त्र कमजोर बन्दै गएको छ, जसका कारण रोजगारी गुम्ने र गरिबी बढ्ने अवस्था देखिएको छ ।
रिपोर्टअनुसार इजरायलले लेबनानको करिब १५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ र हिजबुल्लाह कमजोर नहुँदासम्म उक्त क्षेत्रलाई सुरक्षा क्षेत्रका रूपमा राख्ने योजना बनाएको छ । यस क्षेत्रमा लितानी नदीसम्म फैलिएको भूभाग समेटिएको छ । फेब्रुअरीसम्म नाजुक युद्धविराम कायम रहे पनि इरानका सर्वोच्च नेताको हत्या भएपछि अवस्था बिग्रिएको थियो । त्यसपछि हिजबुल्लाहले आक्रमण सुरु गरेपछि इजरायलले हवाई तथा स्थलगत कारबाही तीव्र बनाएको हो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता २ हजार ५ सयभन्दा बढी मानिसको ज्यान गएको छ ।
स्याटेलाइट तस्बिरहरूले इजरायलले गाजामा अपनाएको जस्तै रणनीति अपनाउँदै गाउँहरू ध्वस्त पारिरहेको देखाएका छन् । यसका कारण दक्षिणी लेबनानबाट करिब ६ लाख मानिस विस्थापित भएका छन्। इजरायलले सुरक्षा खतरा हटेपछि मात्र उनीहरूलाई फर्किन दिने जनाएको छ ।
खाडी क्षेत्रका देशहरू पनि यस युद्धबाट प्रभावित भएका छन् । संयुक्त अरब इमिरेट्समा इरानले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि ठूलो क्षति पुगेको छ । होर्मुज जलडमरू बन्द हुँदा इराक, कतार र कुवेतको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यी देशहरू तेल र ग्यास निर्यातका लागि सोही मार्गमा निर्भर छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले यी देशहरूको आर्थिक वृद्धिदर घट्ने र केहीको अर्थतन्त्र संकुचनमा जाने अनुमान गरेको छ ।
युद्धका कारण अमेरिकामा इन्धन, हवाई यात्रा र सेवाहरू महँगा भएका छन्। फेब्रुअरीमा २. ४ प्रतिशत रहेको मुद्रास्फीति मार्चमा ३. ३ प्रतिशत पुगेको छ। उपभोक्ता विश्वास पनि घट्दै गएको छ । विश्लेषकहरूका अनुसार अमेरिकाको अर्थतन्त्र अझै तेलमा निर्भर रहँदा नवीकरणीय ऊर्जामा कम लगानी हुनु कमजोरीका रूपमा देखिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व आर्थिक वृद्धिदरको अनुमान ३. ३ प्रतिशतबाट घटाएर ३. १ प्रतिशतमा झारेको छ । साथै, खाद्यान्नको मूल्य पनि बढ्दा कृषिमा निर्भर देशहरू बढी प्रभावित भएका छन् । युद्ध छिटो अन्त्य गर्ने वाचा गरेका ट्रम्पका लागि यो संघर्ष चुनौतीपूर्ण बनेको छ । इरान नझुकेको र युद्ध अन्त्य नभएको अवस्थामा उनको लोकप्रियता घटेर ३७ प्रतिशतमा झरेको देखिएको छ । इजरायलका प्रधानमन्त्रीलाई सुरुवातमा केही रणनीतिक लाभ देखिए पनि अहिले स्पष्ट जित नदेखिएको त्यहाँका विश्लेषकहरूको भनाइ छ ।
यता इरानको सत्ता पनि प्रभावित भएको छ, तर नयाँ नेतृत्व अझ आक्रामक रूपमा अघि बढिरहेको छ। साथै, होर्मुज जलडमरूमा नियन्त्रण देखाउँदै इरानले अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने क्षमता पनि प्रदर्शन गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-04
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
