‘सेतो धरती’बाट रंगमञ्चमा डेब्यू गर्दै अभिनेत्री बेनिशा हमाल

काठमान्डौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्दै गरेको नाटक सेतो धरती यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तक सेतो धरती मा आधारित यस नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमालले पहिलो पटक रंगमञ्चमा डेब्यु गर्दैछिन् ।

अहिले भने नाटकमा निर्माताको रूपमा रेखा थापा जोडिएसँगै दर्शकको चासो बढेको छ। कान्तिपुर फिल्म एकेडेमीले सार्वजनिक गरेको पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धितालको नाम उल्लेख गरिएको छ। सुन्दर धितालले यसअघि रेखा थापाकै डेब्यु नाटक मीरा निर्देशन गरेका थिए भने रेखाले कान्तिपुर फिल्म एकेडेमीकै थिएटरबाट रंगमञ्च यात्रा सुरु गरेकी थिइन्।

हाल धमाधम रिहर्सल भइरहेको नाटक सेतो धरतीमा बेनिशा हमाल लगायत फिल्म, थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकार एकैपटक मञ्चमा देखिँदै छन्। नेपाल साहित्य जगतको लोकप्रिय तथा सर्वाधिक बिक्री भएको उपन्यास भएकाले पनि सेतो धरतीलाई नेपाली रंगमञ्चका दर्शक र साहित्य क्षेत्रले अपेक्षाका साथ हेरेका छन्।

यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास मीरामा रेखा थापा तथा पारिजातको उपन्यास शिरीषको फूलमा जीवन लुइँटेललाई रंगमञ्चमा ल्याएर नाटक निर्माण गरिसकेको छ। अहिले बेनिशा हमालको रंगमञ्च आगमनलाई पनि विशेष चासोका साथ हेरिएको छ।

कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका सीईओ प्रकाश पुरीले बताए।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-04-08