वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन

काठमाडौं । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा. प्रकाशराज न्यौपानेको निधन भएको छ । ६४ वर्षीय न्यौपानेको शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो ।

उपचारमा संलग्न चिकित्सक डा. अरुण शाहीका अनुसार उनको निधनले क्यान्सर विशेषज्ञ समुदायलाई गहिरो शोकमा डुबाएको छ । ‘उहाँको मृत्युले हामी सबै स्तब्ध भएका छौं,’ उनले भने । डा. न्यौपाने एक वर्षदेखि पित्तनलीको क्यान्सर (कोलान्जियोकार्सिनोमा) बाट पीडित थिए । गत वर्ष पेटसम्बन्धी समस्या देखिएपछि पाटन अस्पतालमा परीक्षण गर्दा सुरुमा रोग पहिचान भएको थियो । भिडियो एक्स–रे पछि कलेजोमा डल्ला देखिएको र त्यसपछि एमआरआई मार्फत क्यान्सरको पुष्टि भएको चिकित्सकहरूले बताएका छन् ।

रोग पहिचान भएपछि उनले चीन र भारतमा समेत उपचार गराएका थिए । पछिल्लो दुई महिनादेखि भने उनी पाटनमै उपचाररत थिए । चिकित्सकका अनुसार क्यान्सर चौथो चरणमा पुगेपछि मात्र पहिचान भएकाले उपचारपछि निको हुने सम्भावना कम देखिएको थियो ।

डा. न्यौपाने अनुभवी सर्जिकल अन्कोलोजिस्ट थिए । उनले पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मिर्गौला तथा छालासम्बन्धी क्यान्सरका थुप्रै जटिल शल्यक्रिया गरेका थिए । उनी सर्जिकल अन्कोलोजी सोसाइटीका अध्यक्ष र नेपाल क्यान्सर निवारण प्रतिष्ठानका सल्लाहकारका साथै नेपाल क्यान्सर रिलिफ सोसाइटीको केन्द्रीय कार्यसमितिमा आबद्ध थिए ।

यसअघि उनले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए । पछिल्लो समय उनी बी एण्ड बी अस्पताल, ग्वार्को (ललितपुर) र भक्तपुरस्थित क्यान्सर सेन्टरमा कार्यरत थिए । उनको निधनले नेपालको क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

दिवंगत डा. प्रकाशराज न्यौपानेप्रति रातोचन्द्र सुर्य डटकम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-04-04