- हरि गोपाल प्रधान

प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । नेपालीमा इच्छाशक्ति भयो र दूरदृष्टि राखियो, त्यसमा विज्ञान र प्रविधिलाई जोडियो र अलिकति आर्थिक लगानी पनि गरियो भने प्रकृतिका त्यस्ता उपहारहरूको उपयोग गरेमा नेपालको विकास नहुने कुनै शंका छैन । यसको प्रत्यक्ष उदाहरण हो चन्द्रागिरि केबलकार । चन्द्रागिरि र केबलकार अहिले काठमाडौँ उपत्यकामा सर्वाधिक लोकप्रिय पर्यटनस्थल बनिसकेको छ ।

चन्द्रागिरिको उचाइमा अवस्थित भालेश्वर महादेवको मन्दिर सुन्दर कलाकृतिको उत्कृष्ट नमुना हुनेछ । यसै ठाउँबाट बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भालेश्वर शिवको दर्शन गरेर नेपाल एकीकरणको क्रममा उपत्यकामा आक्रमण गरेका थिए ।

भालेश्वर मन्दिर दुई जिल्लामा रहेको छ । एउटा काठमाडौँ जिल्लामा र अर्को काभ्रेपलाञ्चोक जिल्लामा । अचेल चन्द्रागिरी केबलकार चल्न थालेपछि काभ्रेपलाञ्चोक जिल्लाको भालेश्वर मन्दिर ओझेलमा परेको छ र काठमाडौँमा रहेको भालेश्वर मन्दिरको चाहिँ प्रचार–प्रसार बढ्दै गएको छ ।

ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको काठमाडौँको भालेश्वर मन्दिर चन्द्रागिरी केबलकार सञ्चालन भएपछि अझ चर्चामा आएको हुनाले र भालेश्वर मन्दिरको दर्शन गर्नका लागि उपयुक्त माध्यम नै चन्द्रागिरी केबलकार भएकाले चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिरका बारेमा यहाँ सङ्क्षिप्त जानकारी दिनु उपयुक्त नै हुनेछ ।

‘हिमवत्खण्ड’ पुस्तकमा उल्लेख गरिएअनुसार दक्षप्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवाधिदेव महादेवले बोकेर पृथ्वीको परिक्रमा गर्ने क्रममा जुन ठाउँमा सतीदेवीको भाल अर्थात निधार पतन भयो, त्यसै ठाउँमा भालेश्वर महादेव उत्पन्न भएका हुन् । ‘स्वस्थानी व्रतकथा’ ले पनि यही कुराको उल्लेख गरेको छ ।

भालेश्वर महादेवको प्रसङ्ग सुमुख नामक गन्धर्वसँग पनि जोडिएको छ । एकपटक रम्भा नामक अप्सरा स्वर्गको इन्द्रसभाबाट भोगविलास सिध्याई फर्कन लागेकी रहिछन् । उनलाई बाटोमा भेटेर सुमुख गन्धर्वले बलजफ्ती चुम्बन गरेछन् । चुम्बनबाट रिसाएकी रम्भाले सुमुखलाई श्राप दिइछन् । त्यसैले सुमुख मत्र्यलोकमा आउन बाध्य भएछन् । मत्र्यलोकमा भौँतारिएका सुमुखलाई गालब ऋषिले भेट्टाएछन् । ती ऋषिले प्रत्येक दिन तीर्थमा स्नान गरी भालेश्वरको दर्शन गर्न सुमुखलाई उपदेश दिएछन् । ऋषिको उपदेशबमोजिम सुमुखले प्रत्येक दिन तीर्थमा स्नान गरी भालेश्वरको दर्शन गर्दै जाँदा भालेश्वर महादेव प्रकट भएछन् र ‘वर माग’ भनेछन् । ‘हजुरको गण भई बस्न पाऊँ’ भनी सुमुखले वर मागेछन् ।

‘तथास्तु’ भनेर भालेश्वर महादेवले सुमुखलाई वर प्रदान गरेछन् । रम्भाले पहिले अपमान गरेकी हुनाले सुमुखले त्यसको साटो फेर्न केही काल रम्भासँग भोगविलास गरेछन् । त्यसपछि शिवजीको गण भएर बस्न थालेछन् । यो कुरा पनि ‘हिमवत्खण्ड’ मा नै उल्लेख गरिएको छ ।

‘हिमवत्खण्ड’ मा नै उल्लेख गरिएको अर्को एक प्रसङ्गअनुसार विरूपाक्ष नामक ब्राह्मण उत्तम कुलमा जन्मिएका थिए । तर उनको पूर्वजन्मको कर्मको फलस्वरूप उनले विभिन्न पापकर्म गरे र आफ्नी आमासँग थाहा नपाईकनै उनको सम्भोग हुन गयो । त्यसको पापले गर्दा विरूपाक्ष कुष्ठरोगले ग्रस्त भए र यत्रतत्र बरालिन थाले । बरालिँदै जाँदा सुनकोसी नदीको किनारमा उनले ने नामक मुनिलाई भेटे । तिनै ने मुनिको उपदेशअनुसार विरुपाक्ष आफ्नो पापको प्रायश्चित्त गर्नका लागि चौँसट्टी शिवलिङ्गको दर्शन गर्न हिँडे । त्यसरी हिँडेका विरूपाक्षले विभिन्न शिवलिङ्गहरूको दर्शन गर्दै जाँदा तीर्थमा नुहाएर भालेश्वर महादेवको पनि दर्शन गरी पूजा–अर्चना गरेका थिए ।

भालेश्वर महादेवस्थान रहेको चन्द्रागिरी नामक पर्वत स्वयं ऐतिहासिक महत्वको छ । चन्द्रागिरी प्राचीन कालदेखि नै ऐतिहासिक रूपले महत्वपूर्ण स्थानका रूपमा रहिआएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीबाट नै त्यति बेला नेपाल भनिने काठमाडौँ उपत्यकाको अवलोकन गरेका थिए । उनले काठमाडौँ उपत्यकालाई अत्यन्त सुन्दर देखेर नै त्यो उपत्यकालाई जितेर त्यहाँको पनि राजा हुन्छु भन्ने अठोट लिएका थिए । त्यही स्थानमा उनी आध्यात्मिक साधनामा साधनारत रहेका थिए र नेपाल उपत्यकालाई एकीकरण गर्नका लागि त्यहीँबाट शक्ति आर्जन गरेका थिए भन्ने जनविश्वास यस क्षेत्रमा पाइन्छ । पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ मा गरिएको बयान अनुसार नेपाल (काठमाडौँ) उपत्यकाका मल्लराजाहरूले आफूलाई चिन्लान् भनी उनी घुम ओढेर चन्द्रागिरी डाँडाबाट आफ्नो राज्य गोरखातर्फ लागेका थिए ।

पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कदा चन्द्रागिरी हुँदै फर्केका थिए र उपत्यकाको अवलोकन गरेपछि नेपाल उपत्यकाका तीनैवटा राज्यलाई जित्ने दृढ निश्चय गरेका थिए । उनको साथमा रहेका दुई ज्योतिष भानु अज्र्याल र कुलानन्द ढकालले त्यति बेला आफ्नो राजाको इच्छा पूरा हुने भविष्यवाणी गरेका थिए । यी कुराहरू पनि पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ मा नै लेखिएका छन् ।

यसै ठाउँबाट बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भालेश्वर शिवको दर्शन गरेर नेपाल एकीकरणको क्रममा उपत्यकामा आक्रमण गरेका थिए । नेपाल एकीकरणको प्रारम्भविन्दु चन्द्रागिरीबाटै सुरु भएको थियो र त्यो इच्छा भालेश्वर महादेवले पूरा गरिदिएको जनविश्वास अहिलेसम्म पनि यस क्षेत्रमा रहिआएको छ । चन्द्रागिरिको उचाइमा अवस्थित भालेश्वर महादेवको मन्दिर सुन्दर कलाकृतिको उत्कृष्ट नमुना हुन ।
भालेश्वर महादेवको मन्दिरसमुद्री सतहबाट २५५१ मिटरको उचाइमा अवस्थित छ । भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकाङ्क्षा पूरा भई अन्त्यमा शिवलोकमा बास हुन्छ भन्ने जनश्रुति पाइन्छ ।
चन्द्रागिरी प्राचिनकाल देखि नै ऐतिहासिक रुपमा महत्वपूर्ण स्थान हो । चन्द्रागिरीमा १६ वर्षअघि परिकल्पना गरिएको चन्द्रागिरि केबलकारको परियोजनालाई २०६६ सालमा निर्माण गर्न प्रारम्भ गरिएको थियो । भूकम्प र नाकाबन्दीजस्ता अवरोध हुँदाहुँदै पनि अघि बढेको थियो । त्यही परिकल्पनालाई सार्थकता दिने क्रममा पत्थर जस्तो डाँडोलाई मिहिनेत र सीप लगाएर अहिले आकर्षक पर्यटकीय गन्तव्य बनाइएको छ ।

काठमाडौंबाट फपिङ्ग ४५ किलोमिटर सिस्नेरी हुँदै ५५ किलोमिटर र चित्लाङ्गबाट ३० किलोमिटरको ट्रेकिङ्ग पछि चन्द्रागिरी भालेश्वर महादेव पुग्न सकिन्छ । चित्लाङ्गबाट पश्चिततर्फ हेर्दा अग्लो डाडाँ चन्द्रमा जस्तो आकार भएको हुँदालाई त्यस डाँडाँलाई नै चन्द्रागिरी नामाकरण भएको थियो । चित्लाङ्ग शान्त र रमणिय स्थान भएको हुँदा यहाँ अवस्थित ढुंगोधारामा चिसो पानी पिए पश्चात महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुन मन्दिरमा जान्छौं यात्री भन्ने कविताको रचना पनि सोही स्थानमा बसी रचेका थिए रे ।

यहाँ केबलकारको बेस स्टेसनबाट २५५१ मिटर उचाइ रहेको टप स्टेसनदेखि माथि भालेश्वर महादेव मन्दिर, बहुउपयोगी हल, रेस्टुरेन्ट, घोडाचढी, बालबालिकाका लागि खेल मैदान उद्यान र भ्यु टावर, सेमिनार हल आदि पनि रहेका छन् । केबलकार बाहेक चन्द्रागिरिमा लुकेको प्राकृतिक सौन्दर्यलाई अनुभव गर्ने अर्को कुनै वैकल्पिक माध्यम अहिलेसम्म देखिएको छैन । थानकोटको गोदामदेखि केबलकार चढेर ९ मिनेटको अवधिमा डाँडाको टुप्पोमा पुग्न सकिन्छ र त्यहाँबाट हरियो वन र कुहिरो दृश्यावलोकन सहित केबलकारबाट मनोरम काठमाडौँ सहरको सौन्दर्य हेर्न सकिन्छ ।
त्यहाँ क्याफे फाउन्टेन छ । बिहानको खाजा, दिउँसोको खाना अथवा रातिको भोजनका लागि चाहिने सम्पूर्ण परिकारहरू पस्कने क्याफे फाउन्टेन छ । समुद्रको सतहदेखि २५५१ मिटर अग्लो ठाउँमा निर्मित भ्यु टावरबाट अन्नपूर्णा शृङ्खलादेखि सगरमाथासम्मका साथै उपत्यकाका विभिन्न सहरहरूको अवलोकन गर्न सकिन्छ ।
चन्द्रागिरिडाँडामा पुगेपछि त्यहाँ रहेका ब्रान्डेड पसलहरू त्यस ठाउँको थप आकर्षण रहेछन् भन्न करै लाग्छ । आनन्दका साथ मन पराएका विभिन्न सामाननहरू र उपहारहरू त्यहाँ किन्न सकिन्छ । सहरको कोलाहलदेखि टाढा चन्द्रागिरिको उचाइमा पुगेर विभिन्न पेय पदार्थहरूको मजा लिनुमा पनि बेग्लै आनन्द छ । बालबच्चाहरूका लागि खेल्ने निःशुल्क उद्यान पनि चन्द्रागिरिको अर्को एउटा विशेषता हो । चन्द्रागिरिनगरपालिका, फाखेल गाविस र मकवानपुर जिल्लाको चित्लाङ गाउँको सिमानासँग जोडिएको यस परियोजनाभित्र रिसोर्ट पनि निर्माण गरिएको छ ।

चन्द्रागिरिको मनोरम वातावरणमा बैठक, सभा आदिको आयोजना गरिनु आफैँमा अत्यन्तै आकर्षक घटना हुन सक्छ । साना–साना व्यावसायिक बैठकदेखि ठूला–ठूला सभाहरूसमेत गर्न सकिने अवस्था चन्द्रागिरि सभाकक्षको विशेषता हो । साथै चन्द्रगिरि हिल्स् रिसोर्टको गोल्ड मेम्बर बने वापत थप आर्थिक छुट सहितका सुविधाहरु उपभोग गर्न सकिन्छ साथै त्यहाँ रहेका अनुभवी र दक्ष कर्मचारीहरूद्वारा बैठक सञ्चालन गर्न सेवा प्रदान गर्ने गरिन्छ ।

चन्द्रगिरि हिल्स्का अध्यक्ष, हेम राज ढकालद्वारा स्थानिय जनशक्तिहरुलाई रोजगारी प्रदान गरी देशमा केही व्यक्तिलाई भए पनि वैदेशिक रोजगारमा जानबाट रोकेको छ ।
काठमाडौं वातावरणमैत्री भनिएको यो परियोजना अपाङ्गमैत्री पनि रहेको छ । बेस स्टेसनदेखि सबैभन्दा उचाइमा रहेको भ्यु टावरसम्म ह्विलचेयर पनि लैजान सकिन्छ । टावरबाट पूर्वमा सगरमाथादेखि पश्चिममा कान्जिरोवा हिमालसम्मका हिमदृश्यहरू देख्न सकिन्छ ।
केबलकारको कूल लम्बाइ २४६० मिटर रहेको छ । केबरकारको मार्गमा ११ वटा टावर छन् । यी टावरमा बाँधिएका फलामे लट्ठामा ३८ वटा यात्रु बोक्ने र ३ वटा सामान ढुवानी गर्ने ४१ वटा गोन्डाला जोडिएका छन् । प्रतिघन्टा १ हजार यात्रु क्षमता भएको केबलकारमा ९ देखि १४ मिनेटको अवधिमा एउटा स्टेसनबाट अर्को स्टेसनसम्म पुगिन्छ । चट्याङ पर्दा र तीव्र गतिमा हावाहुरी चल्दा यसको गति कम हुने वा आफैँ रोकिने सेन्सर प्रविधि यसमा जोडिएको छ ।
धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थानमा सञ्चालनमा ल्याएको केबलकार परियोजनाअन्तर्गत थानकोट चेकपोस्टदेखि १३ सय मिटर दक्षिण–पश्चिममा रहेको केबलकारको बेस स्टेसन १ सय २० रोपनीमा फैलिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
