कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ, जसले घाटामा गएको नेपाल वायुसेवा निगमलाई फाइदामा ल्याए

काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामंगलस्थित आफ्नो जग्गामा करिब तीन करोड लागतमा सुविधा सम्पन्न क्याटरिङ, तालिम तथा पार्किङ भवन निर्माण गर्ने भएको छ । उक्त भवनको शनिबार एक समारोहबीच भूमिपुजा गरिएको छ ।

उक्त भवनमा निगमका गाडी पार्किङ, प्रशिक्षण कक्षा जस्ता विभिन्न कार्य प्रायोजनमा ल्याइने छ । जसबाट निगमको वार्षिक एक करोड रुपैयाँ रकम बचत हुने बताइएको छ ।

निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको यो पछिल्लो उदाहरणीय काम हो । श्रेष्ठ जब, निगमको कार्यकारी सञ्चालकमा आए, तब वर्षौदेखि घाटा बेहोर्दै आएको निगम नाफामा गएको छ ।

जेनजी आन्दोलनपछि बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले श्रेष्ठलाई निगमको कार्यकारी सञ्चालक नियुक्ति गरेको हो । जब श्रेष्ठ निगमको कार्यकारी सञ्चालकमा नियुक्ति भए, तब झण्डै १२ वर्षदेखि बिग्रिएका कार्यालयभित्रको लिफ्टसमेत सञ्चालनमा ल्याए ।

कार्यकारी सञ्चालक श्रेष्ठले निगममा यस्ता थुप्रै उदाहरणीय काम गर्दै आएका छन् । जसबाट निगम नाफामा गएको हो । निगम नाफामा गएसँगै चुक्ता गर्नुपर्ने ऋण समेत भुक्तान गरेको छ । कार्यकारी सञ्चालक श्रेष्ठले सबैभन्दा उपलब्धीपूर्ण कार्य भनेको केही वर्षदेखि इन्जिन बिग्रिएर थन्किएर बसेको जहाज मर्मत गरी सञ्चालनमा ल्याए । हाल निमगसँग रहेका चारवटै ठूला जहाजले नियमित उडान भर्दै आएको छ । अहिले निगमको जहाजले ११ स्थानमा नियमित उडान गर्दै आएको छ । मौसम प्रतिकुलताका कारण उडान हुन नसक्नुलाई स्वभाविक मानिन्छ ।

श्रेष्ठले निगममा गरेका उपलब्धीहरु

१, निगमको न्यारोबडी ए३२० का जहाज मर्मतको क्रममा विविध कारण लामो समयदेखि इजरायलस्थित इजराल एरोस्पेश इन्डष्ट्री (आईएआई)मा थन्किएको थियो । तर, श्रेष्ठ कार्यकारी सञ्चालकमा आएपछि जहाज इन्जिन मर्मत् तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आइएआईबिच वार्ताको माध्यमबाट समझदारी गरी आफ्नो इन्जिन मर्मत गरी निगमलाई विगत डेढ वर्षदेखि भाडाको इन्जिन वापत भैरहेको नोक्सानीलाई बचाएको छ । हाल निगमको चारवटै जहाज नियमित उडानमा आई आफ्नो साख बचाई आम्दानीमा नियमितता आएको छ ।

२, जहाज पुनः भाडामा लिने अवस्था नआओस भनी वर्तमान कार्यकारी सञ्चालकबाट निगमको वाइडबडी जहाजको इन्जिन नियमित मर्मतका लागि गृहकार्य भइरहेको छ । सार्वजनिक खरिद ऐन, विधि, प्रक्रिया तथा अन्तर्राष्ट्रिय मापदण्डसमेत पूरा गरी निगमको वाइडबडी जहाजको इन्जिन नियमित गर्नुपर्ने छनौटसम्बन्धी बोलपत्र तयार गर्न सात सदस्यीय एक उपसमिति गठन गरि कार्य अगाडि बढाइएको छ । साथै, जहाजको अत्यावश्यक पार्टपुर्जाहरु जगेडा राख्नका लागि पनि व्यवस्थापनलाई पहल गरिएको छ ।

३, वर्तमान कार्यकारी सञ्चालक आएपछि ऋण भुक्तानीलाई निरन्तरता दिँदै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई वटा न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये २०८२ को पुस मसान्तमा करिव ५४ करोड रकम भुक्तानी गरेको छ ।

४, कार्यकारी सञ्चालक श्रेष्ठको पहलमा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापनका विषयमा दुवै पक्षबिच लामो समयदेखिको संवादहिनतालाई तोड्दै निगमले ब्याज मिनाहा वा छुटका विषयमा सम्भावित विकल्पहरु यकिन गर्ने तथा ऋण तिर्ने तालिका पुनःसमायोजन गर्न र ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न दुवै पक्षबिच छलफल सुरु भएको छ ।

५, नागरिक लगानी कोष र सञ्चय कोषले दिएको ऋण मिनाहा गर्ने अथवा ब्याज मिनाहा गर्ने र यस्तो अवस्था नरहेको खण्डमा निगमले नेपाल राष्ट्र बैंक वा नेपाली सेनासँग सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने सन्दर्भमा छलफल गर्न उचित देखिन्छ ।

वर्तमान कार्यकारी सञ्चालक श्रेष्ठले निगममा दुई दशकभन्दा बढी सेवा गरी अवकाश प्राप्त गरेका हुन, तर, उनको पर्यटन क्षेत्रमा गरेको योगदानको कदर गर्दै वर्तमानमा सरकारले उनलाई पुनः संचालक समितिमा नियुक्ति गरेको हो ।

विगतका कार्यकारीबाट नभएका र पन्छिएका कार्यहरु श्रेष्ठ आएपछि सुुरु गरिएका छन्, जसबाट निगमले ऋण भुक्तानीका साथसाथै निगमको चारवटै जहाज र दुई वटा ट्वीनेइटर सञ्चालनमा ल्याई निगमको साख र दाम बढाउने कार्य भएकोे छ ।

हाल निगमका कर्मचारीहरुको साथ र सहयोग पाएकोले पनि कार्यकारी सञ्चालक श्रेष्ठलाई काम गर्नु सजिलो भएको हो । यसैले निगमको निरन्तर हित चिताई इमान्दारितापूर्वक निगम अगाडि बढाउने कार्यरत वर्तमान अनुभवी कार्यकारी सञ्चालकलाई नै अबको ४ वर्षसम्म नियुक्ती दिनु उचित देखिन्छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-03-14