काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले निरन्तर नजिकबाट नियालिरहेको जनाएको छ ।
सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाबारे अद्यावधिक जानकारी संकलन गर्न तथा आवश्यक समन्वयका लागि त्यहाँ रहेका १० वटा नेपाली नियोगमार्फत स्थानीय सरकारी निकाय र नेपाली समुदायसँग नियमित सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ । नियोगहरूबाट दैनिक रूपमा प्रतिवेदन प्राप्त भइरहेको र सोही आधारमा परिस्थिति विश्लेषण गर्दै आवश्यक कूटनीतिक पहल अघि बढाइने मन्त्रालयको भनाइ छ ।
यसबीच अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी एक नेपाली युवाको दुःखद निधन भएको छ । परिवारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जानकारी गराइसकिएको र शव स्वदेश फिर्ता ल्याउन अबुधाबीस्थित नेपाली दूतावासले आवश्यक प्रक्रिया अघि बढाएको छ । अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यपूर्व इष्ट कम्पनीमार्फत सुरक्षा गार्डका रूपमा कार्यरत गोरखा जिल्लाका स्थायी बासिन्दा २९ वर्षीय दिबस श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
उक्त घटनाबाहेक हालसम्म पश्चिम एसियामा रहेका तथा त्यहाँका विमानस्थल प्रयोग गर्ने अन्य सबै नेपाली नागरिक सुरक्षित रहेको जानकारी नियोगहरूबाट प्राप्त भएको मन्त्रालयले स्पष्ट पारेको छ ।
पश्चिम एसियामा करिब १८ लाख नेपाली कार्यरत रहेकाले उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै नेपाल सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा आकस्मिक रेस्पोन्स टिम गठन गरेको छ । उक्त टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, अर्थ, कानुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा मन्त्रालयका साथै वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागका प्रतिनिधि सहभागी छन् । टोलीमार्फत द्रुत र समन्वित ढंगले काम गर्ने लक्ष्य राखिएको छ ।
मन्त्रालयले सूचना प्रविधिको प्रयोग गरी त्यहाँ रहेका नेपालीको अद्यावधिक विवरण संकलन सुरु गरेको जनाएको छ । कन्सुलर सेवा विभागमार्फत सुरक्षित अनलाइन प्रणाली विकास गरी नियोगहरूबाट सूचना जारी गरिएको र आवश्यक परे शीघ्र उद्धार तथा परामर्श सेवा उपलब्ध गराउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी मन्त्रालयले सम्बन्धित मुलुकका काठमाडौंस्थित नियोग, अन्तर्राष्ट्रिय संघसंस्था तथा पश्चिम एसियास्थित नेपाली नियोगमार्फत ती देशका सरकारसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जनाएको छ । अवस्था सामान्य नभएसम्म यो प्रक्रिया जारी रहने उल्लेख गरिएको छ ।
मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको दोहोर्याउँदै सम्बन्धित देशका सरकारले जारी गरेका आधिकारिक सूचनामा मात्र विश्वास गर्न र सुरक्षाका उपाय कडाइका साथ अपनाउन आग्रह गरेको छ। साथै, नजिकको नेपाली नियोग र नेपाली समुदायसँग सम्पर्कमा रहन पनि अनुरोध गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-04
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
