काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको आन्तरिक उडानमा चाप बढेको छ । यही आउने बिहीबार अर्थात २१ फागुनमा निर्वाचन हुँदैछ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँ भित्रिनेभन्दा बाहिरिने यात्रुको संख्या बढ्दै गएको विमानस्थल कार्यालयले जनाएको हो ।
विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार पछिल्लो समय आन्तरिक उडानतर्फ दैनिक १४ हजार हाराहारी यात्रुले काठमाडौँबाट ओहोरदोहोर गर्दै आएका छन् ।
हाल काठमाडौँबाट दैनिक करिब १३० उडानबाट भरिभराउ यात्रु बाहिरिने गरेका छन् । उनले भने, ‘निर्वाचन नजिकिएसँगै आन्तरिक विमानस्थल प्रयोग गर्ने हवाईयात्रुको ओहोरदोहोर बाक्लिँदै गएको छ । प्रतिकूल मौसमका कारण उडानमा केही ढिलाइ हुने गरेपनि यात्रुको चापअनुसार उडान संख्या बढ्दै गएको छ ।’
विगतका निर्वाचनमा आन्तरिक उडान ठप्प हुँदै आएपनि यस पटक मतदानका दिन पनि आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको हवाई उडान नियमित रहने जानकारी दिँदै उनले फागुन २१ गते उडानको टिकट भएका यात्रुले ढुक्कसँग यात्रा गर्न सक्ने बताए ।
निर्वाचनका लागि मतदाता गन्तव्यतर्फ लाग्न थालेसँगै अहिले वायुसेवा कम्पनीको व्यापारसमेत दसैँतिहारमा जस्तै बढेको छ । विमानस्थल कार्यालयको तथ्यांक्अनुसार फागुन ११ गते काठमाडौँबाट भएका २३६ उडानबाट १४ हजार २८१ यात्रुले ओहोरदोहोर गरेका छन् । जसमध्ये सात हजार २१८ यात्रु बाहिरिएका छन् भने सात हजार ६३ यात्रु काठमाडौँमा अवतरण गरेका हुन् ।
त्यस्तै फागुन १२ गते भएका २३९ उडानबाट १२ हजार ७३४ यात्रुले आन्तरिकतर्फको उडान भरेका छन् । जसमध्ये छ हजार ८९९ यात्रु बाहिरिएका छन् भने पाँच हजार ८३५ यात्रु काठमाडौँ भित्रिएका छन् ।
विमानस्थल कार्यालयका अनुसार फागुन १३ गते भएका २४९ उडानबाट १४ हजार ४६५ यात्रुले उडान भरेका छन् । १३ गते सात हजार ५४१ यात्रु बाहिरिएका हुन् भने छ हजार ९२४ यात्रु भित्रिएका हुन् ।
फागुन १४ गते भएका २४३ उडानबाट १३ हजार ४२४ यात्रुले ओहोरदोहोर गरेका छन् । जसमध्ये सात हजार २४४ यात्रु काठमाडौँबाट बाहिरिएका छन् भने उक्त दिन छ हजार १८० यात्रु भित्रिएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्वाचनअघिका तीन दिन र निर्वाचनपछिका दुई दिन हवाई उडानमा अत्यधिक चाप हुने देखिएको छ ।
नेपाल वायुसेवाको आम्दानीमा उल्लेखनीय सुधार
यसैबीच नेपाल वायुसेवा निगमको आम्दानीमा उल्लेखनीय सुधार भएको छ । निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको हो ।
निगमको कार्यकारी सञ्चालकको जिम्मेवारी अमृतमान श्रेष्ठले सम्हालेसँगै निगमको कार्यसम्पादनमा समेत सुधार भएको छ । अमृतमान श्रेष्ठ निगमको कार्यकारी सञ्चालकमा आएसँगै कार्यसम्पादनमा उल्लेखनीय सुधार भइरहेको अवस्थामा आम्दानीमा पनि सुधार भएको हो । कुनै पनि संस्था सफल हुनका लागि सञ्चालक सक्षम हुनुपर्छ भन्ने उदाहरण अहिले निगम बनेको छ ।
निगमका चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु संख्या गत आर्थिक वर्ष २०८१÷०८२ को सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्यांकले देखाएको छ ।
उक्त अवधिमा निगमको कुल आम्दानी करिब सात प्रतिशतले वृद्धि भएको छ भने यात्रु संख्या करिब १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।
उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु संख्या दुवैमा वृद्धि भएको निमगले जनाएको छ ।
जनवरीदेखि मार्चसम्मको अवधिमा निगमका अधिकांश उडानहरू उच्च यात्रुसहित उडान भरिरहेका छन् । निगमले आगामी दिनमा सेवा विस्तार तथा बजार व्यवस्थापनलाई अझ सुदृढ गर्दै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-01
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
