काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक कोशी प्रदेशको मोरङ- ६ पनि रहेको छ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला यस पटक पनि यस क्षेत्रबाट उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
मोरङ क्षेत्र नम्बर ६ मा बुढीगङ्गा गाउँपालिका, सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर २ देखि वडा नम्बर ७ सम्म र विराटनगर महानगरपालिकाका वडा नम्बर ४ देखि ७ सम्म र वडा नम्बर ९ , ११ र १२ वडा समेटिएको छ ।
निर्वाचन आयोगका अनुसार मोरङ- ६ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ३७ हजार ८३२ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १४९ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को आम निर्वाचनमा यस क्षेत्रबाट काँग्रेसका डा. शेखर कोइरालानै निर्वाचित भएका थिए । कोइरालाले ३५ हजार २२४ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै दोस्रो स्थानमा रहेका एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ मत पाएका थिए । त्यस्तै रास्वपाका यादव कुमार प्रधानले ९ हजार १४० र राप्रपाका गोपाल क्षेत्रीले ८ हजार ९२५ मत प्राप्त गरेका थिए ।
त्यस्तै २०७९ को निर्वाचनको समानुपातिकतर्फ यस क्षेत्रमा सबैभन्दा बढी नेपाली काँग्रेसले २३ हजार ७१० मत पाएको थियो भने एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो । त्यस्तै रास्वपाले ११ हजार ५२६ मत प्राप्त गरेको थियो भने राप्रपाले १० हजार ६४१ मत पाएको थियो । त्यसैगरी तत्कालिन माओवादी केन्द्रले ८ हजार १८५ मत पाएको थियो ।
उम्मेदवार- २०८२
यस निर्वाचन क्षेत्रबाट राजनीतिक दल र स्वतन्त्र गरेर १७ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
काँग्रेसले यस क्षेत्रमा फेरी एक पटक डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमालेले यस पटक विनोद ढकाललाई उम्मेदवार बनाएको छ भने नेकपाले ओपेंद्र कुमार रायलाई उम्मेदवार बनाएको छ । त्यस्तै रास्वपाले यस क्षेत्रमा रुबिना आचार्यलाई टिकट दिएको छ भने राप्रपाले सबिन निरौलालाई उम्मेदवार बनाएको छ ।
निष्कर्ष:
गत निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनका कारण शेखर कोइरालालाई धेरै हदसम्म चुनाव जित्न सहज भएको थियो । यस पटक सबै दल आमने सामने रहेकाले उनलाई अघिल्लो चुनाव जस्तो सहज हुने देखिएको छैन । यद्यपि उनी चुनाव जित्ने प्रबल सम्भावना भएका नेता हुन् । काँग्रेसको विशेष महाधिवेशनमा उनले खेलेको तटस्थ भूमिकाका कारण पार्टी भित्र र बाहिर उनको आलोचना भइरहेको र देशभर परिवर्तनको मुद्धा उठिरहेका कारण उनलाई धेरै हदसम्म असर हुने भने देखिएको छ ।
त्यस्तै एमालेमा अध्यक्ष केपी शर्मा ओलीका कडा विरोधीको पहिचान बनाएका विनोद ढकाललाई यस क्षेत्रबाट उम्मेदवार बनाइएको छ । यस अर्थमा एमालेका ओली समर्थकले ढकाललाई कसरी सहयोग गर्छन् भन्ने आधारमा पनि यस क्षेत्रको नतिजा के हुन्छ भन्ने तय हुने छ । त्यस्तै देशभर देखिएको लहरको फाइदा यस क्षेत्रमा रास्वपालाई हुने देखिएको छ तर त्यो चुनाव जित्ने तहसम्म भइहालेको अहिलेसम्मको वातावरणले देखिएको छैन । त्यस्तै यस क्षेत्रमा राप्रपाको पनि सम्मानजनक मत रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-08
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
