बुटवलमा भूकम्प सिकाइ सम्बन्धी प्रदर्शनी

बुटवल । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा बुटवलमा भूकम्प सिकाइ प्रदर्शनी सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न प्रदर्शनीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न नवीनतम प्रविधि र सीप सिकाइलाई अवलम्बन गर्न आवश्यक भएको बताए ।
मुख्यमन्त्री आचार्यले भूकम्पको विपद् पूर्वसूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैं चुस्त राखिनु पर्नेमा जोड दिए । ‘यसलाई सिकाइको रूपमा लिन जरुरी छ । भावी दिनमा हुन सक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात गर्न आवश्यक छ, उनले भने, ‘हामीले विगतमा धेरै क्षति बेहोरेका छौं ।’

विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रुपन्देही जिल्लाका २५ वटा विद्यालयका करिव ४ हजार विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नास्टका वैज्ञानिक डा. सुरेशकुमार ढुंगेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक हुने बताए । यसको लागि यस्ता प्रदर्शनात्मक कार्यक्रम अत्यन्त उपयोगी हुने उनको भनाइ छ ।

न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभइ जीवन उपयोगी ज्ञान सिक्ने स्थल भएकाले नास्टसँगको सहकार्यले विद्यार्थीहरूमा भूकम्पीय सचेतना र व्यवहारिक सीप विकासमा ठूलो योगदान पुग्ने बताए ।
वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले भूकम्प पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको मूल आधार रहेको बताए । भूकम्प कहिले आउँछ भन्ने थाहा नपाए पनि आउँदा कसरी सुरक्षित रहने भन्ने ज्ञान सिकाउन आवश्यक भएको उनको भनाइ छ ।

कार्यक्रमका संयोजक तथा नास्टका भूकम्पविद डा. शिव सुवेदीका अनुसार कार्यक्रममा भूकम्पको उत्पत्ति, प्लेट टेक्टोनिक्स, नेपालमा देखिने भूकम्पीय प्रवृत्ति, सुरक्षित संरचना निर्माण तथा व्यक्तिगत सुरक्षाका उपायहरू प्रदर्शनात्मक रूपमा प्रस्तुत गरिएको थियो ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-01-14