काठमाडौँ । आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रुपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन काठमाडौँ महानगरपालिकाको केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम गरिरहेको छ । यस क्रममा कृष्णमन्दिरदेखि डवलीहुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँवायाँका भवनहरुको अग्रमोहोडालाई मौलिक स्वरुपमा रुपान्तरणको काम सुरु हुन लागेको छ ।
ढुङ्गा विछ्याउनेसहितको यो कामका लागि ९ करोड ७३ लाख रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट छनोट भएको निर्माण पक्षसँग ९ करोड ४५ लाख रुपियाँमा सम्झौता गरिएको छ । यस मार्गमा मोहडा परिवर्तन गर्नुपर्ने ६३ वटा घरमध्ये ९ वटाको स्थानीय आफैँले परिवर्तन गर्नुभएको छ । अब ५४ वटाको सुधार गर्नु पर्नेछ ।
सहर विस्तारसँग निर्माण भएका तथा पुननिर्माण भएका भवनहरुका आधुनिक भएसँगै मौलिकता ह्रास आउन थालेको थियो । यसरी स्वरुप परिवर्तन भएका भवनहरुको झ्यालढोका, बालकोनी, गारो तथा पर्खालको पूर्ण तथा आंशिक परिवर्तन यसका मुख्य काम हुन् । यस क्रममा पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन तथा सडक तथा पेटीको पुनरुत्थान गरिनेछ । मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता भाग महत्वपूर्ण मानिन्छन् । घरको गारोमा प्रयोग गरिएका इटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मौलिक घरको डिजाइन हो ।
किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छवीकालीन नारायण जात्रासहित वर्षौँदेखि सञ्चालन हुने गरेका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा यो मार्गको अनिवार्य प्रयोग हुने गरेको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, २ वटा वुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, अक्षय तृतियाका दिन सर्वत पानी वितरण गर्ने, दाफा भजन गाउनेसहित विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन हुने सत्तलहरु छन् । यस क्षेत्रलाई वडाले हरेक शनिवार सवारी साधन प्रवेश निषेध क्षेत्र बनाएर परम्परागत उत्पादनहरुको प्रदर्शनी तथा मेला सञ्चालन गर्दै आएको छ । यसरी सञ्चालन हुने मेलामा ६५ वटासम्म प्रदर्शनी कक्ष हुने गरेका छन् । अहिलेसम्मको औसत आर्थिक क्रियाकलापमा दिनको ३३ लाख रुपियाँसम्मको कारोबार भएको तथ्याङ्क छ ।
‘यो क्षेत्र उपत्यकामा पूर्व लिच्छवि, वर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थान हो ।’ वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्छन्, ‘हाँडीगाउँको प्राचीनता फिर्ता गराउन कृष्णमन्दिरबाट ढोकावहाल, भुँवर कु, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको भाग पुरानो सहर हो । यो क्षेत्रमा भएका भवनहरुलाई परम्परागत शिल्प र शैली देखिने बनाउने, सडकमा ढुङ्गा छाप्नेसहितका काम गर्दैछौँ ।’ प्रजापतीका अनुसार नरःदेमा इसापूर्व दोस्रो शताब्दीको पुरातात्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनहरुको जग भेटिएका छन् । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरका अवशेष पाइएको छ ।
प्रजापतीका अनुसार वडाभित्र करिब ५५ करोड रुपियाँभन्दा धेरै लागतका ठूला योजनाहरु सञ्चालनमा छन् । यसमध्ये सानो गौचरणको फुटबल स्टेडियम करिब १८ करोड रुपियाँ लागतमा निर्माण हुँदैछ । व्यक्तिको कब्जामा पुगेको सार्वजनिक जग्गा फिर्ता गरेर पार्क निर्माण गरिँदैछ । यस प्रकृतिका पार्कहरुमा करिब ६ करोड ५० लाख रुपियाँमा स्केटबोर्ड पार्क, करिब २ करोड १५ लाख रुपियाँमा भत्केको पुलमा स्पोर्टस पार्क निर्माण भइरहेको छ । करिब १ करोड २५ लाख रुपियाँ लागतमा सामुदायिक भवन, करिब ८० लाख रुपियाँमा नर बुद्ध विहार, करिब ५ करोड २४ लाख रुपियाँमा गहना पोखरी पुननिर्माण भइरहेका छन् ।
धोवीखोला करिडोरमा करिब २० लाख रुपियाँ लागतमा पार्क निर्माण हुँदैछ । यस्तै खहरे धोवीखोला दोभानमा ६० लाख रुपियाँमा पार्क निर्माण हुँदैछ । करिब १० करोड रुपियाँ लागतमा भित्री सहरी क्षेत्रमा ढुङ्गा छाप्ने, २ करोड ५० लाख रुपियाँमा धनगणेश मन्दिर र पार्क पुननिर्माण, भीमसेन स्थानमा करिब १ करोड ७५ लाख रुपियाँमा फल्चासहितको पुस्तकालय, करिब ३५ लाख रुपियाँमा पञ्चेधारा, करिब ५० लाख रुपियाँमा धनगणेश सत्तल, ३ करोड रुपियाँ मैतीदेवी पञ्चकुमारी द्यःछेँ, ४० लाख रुपियाँमा वडा भवन पुननिर्माण भएका छन् । करिब १ करोड ५० लाख लागतमा वडाभित्रका विभिन्न फल्चाहरु पुननिर्माण भइरहेका छन् ।
गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) र द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह र (चौखटको चोक्ट्या नारायणको चोक र कैलाशकुट भवनको चमत्कारी तलाउ, भाटभटेनी (मौता द्यः), चारनारायण मन्दिर यसै क्षेत्रमा पर्छन् ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरूको स्वरूपलाई कायम राख्न कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । मौलिक शैलीका भवनहरुको मर्मत सम्भार गर्ने क्रममा स्वरुप र शैलीमा आएको परिवर्तनलाई सुधार गरेर पुरानै शैली दृश्यात्मक अवस्थिति निर्माण गर्नु यसबाट प्राप्त गर्ने नतिजा हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-10
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
