मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, गठबन्धनका नेताहरु आन्तरिक छलफलमा

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ नेतृत्वको सरकारका लागि राजनीतिक दलहरुले आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।

दाबी प्रस्तुत गर्नुअघि नेकपा एमाले बाहेकका ७ दलीय गठबन्धनका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका थिए ।

गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा मुख्यमन्त्री पदको शपथ लिएपछि विवादित बनेका यादवलाई सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ सरकार गठन गर्न आदेश दिएको थियो । तर, उनले विश्वासको मत लिन नसक्ने भएपछि १७ मंसिरमा राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख कर्णले नयाँ सरकारमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री टुंगो लगाउन एमालेबाहेकका सात दलीय गठबन्धनका नेताहरूले विहीबार लामो छलफल गरेका थिए । छलफलमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी थिए ।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ मुख्यमन्त्रीको टुंगो लागेको र शुक्रबार दिउँसो २ बजे नै सात दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने बताएका थिए । उनले सात दलीय गठबन्धनको भावना अनुसार सरकार गठन हुने र मुख्यमन्त्रीको शपथसँगै सबै दलबाट मन्त्रीको शपथ हुनेसमेत बताएका थिए । तर, बैठकमा सहभागी एक सांसदले भने शुक्रबार पुनः बैठक बसेर नाम टुंगो लगाउने सहमति भएको बताएका छन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-12-05