नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच आज मंगलबार पर्यटन प्रवद्र्धन तथा हवाई सेवामा सहकार्यसम्बन्धी एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र नेपाल पर्यटन बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका छन् । निगमको केन्द्रीय कार्यालय न्युरोड, काठमाडौंमा आयोजित सम्झौता कार्यक्रममा दुवै संस्थाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

सो अवसरमा दुवै पक्षबाट पर्यटन र हवाई सेवालाई राष्ट्रिय विकासको महत्वपूर्ण आधार मान्दै सहकार्यलाई दीर्घकालीनरूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्तै, सम्झौतामा नेपाल वायुसेवा निगम र पर्यटन बोर्डले एकापसमा आ–आफ्नो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने प्रावधान राखिएको छ । सम्झौताअनुसार पर्यटन प्रवद्र्धन कार्यका लागि यात्रा गर्दा वा त्यस्ता कार्यक्रममा सहभागिताका लागि जाने पदाधिकारी तथा कर्मचारीलाई निगमका गन्तव्यहरूमा विशेष छुटमा हवाई टिकट उपलब्ध गराइनेछ ।

त्यस्तै, नेपाल पर्यटन बोर्डले आयोजना गर्ने देशभित्र र विदेशमा हुने प्रवद्र्धनात्मक कार्यक्रमहरूमा नेपाल वायुसेवा निगमलाई स्टल उपलब्ध गराउने छ । दुवै संस्थाले आपसी ब्रान्ड प्रमोशन, बजार अभिमुखीकरण, परिचयात्मक भ्रमण र संस्थागत साझेदारीलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ संयुक्त गतिविधि सञ्चालन गर्ने सहमति भएको छ ।

यस्तै, दुवै निकायबीच भएको उक्त सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ । राष्ट्रिय ध्वजावाहक विमान सेवाका रूपमा नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहुँच र विश्वसनीयता मजबुत पार्दै आएको छ भने पर्यटन बोर्डले नेपाललाई विश्व बजारमा आकर्षक गन्तव्यका रूपमा परिचित गराउन निरन्तर काम गर्दै आएको छ ।

उक्त सम्झौताले आफ्नो–आफ्नो दक्षता र संयोजनबाट पर्यटन प्रवद्र्धन, यात्रु वृद्धि, बजार विस्तार, गन्तव्य विविधीकरण र नेपाल–मैत्री अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्वपूर्ण योगदान पुग्ने कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठले ज विश्वास व्यक्त गरे ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-12-02