
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित संशोधनलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेका छन् ।
उनले यो कदम गठबन्धनको सहमति र समितिमा भएको सर्वसम्मत निर्णयको उल्लङ्घन भएको बताएका छन् । कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो ।’
उनले नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने र सबै मिलेर एमालेले हालेको संशोधन पास हुन नदिनुपर्नेमा जोड दिएका छन् । ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ,’ कोइरालाले भनेका छन्, ‘कोही दुविधामा नपरे हुन्छ ।’
बहुचर्चित सङ्घीय निजामती सेवा विधेयकमा नेकपा एमाले राष्ट्रिय सभाका ५ जना सांसदले कुलिङ पिरियडको विपक्षमा संशोधन हालेका छन् । उनीहरूले निजामती सेवामा कुलिङ पिरियड लागु गर्ने प्रावधान नराखी ऐन बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
एमाले राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, सोनाम गेल्जेन शेर्पा, इन्दिरादेवी गौतम, रुक्मिणी कोइराला र सुमित्रा बिसीले संशोधन प्रस्ताव हालेका हुन् । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा एमालेका ५ सहित १६ ओटा संशोधन प्रस्ताव परेका छन् ।
राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिएको हो । सांसदहरूलाई संशोधन हाल्ने समय शुक्रवार ५ बजेसम्म थियो ।
Sudina Shrestha
प्रकाशित: ६ श्रावण २०८२, सोमबार ०८:३३
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
