काठमाडौँ । सम्पादक समाज नेपालले आयोजना गरेको वातावरणका लागि पदयात्रा शृङ्खला अन्तर्गत झन्डै एक सय जना पदयात्री शनिबार देउराली, देवीचउर, बज्रबाराही, स्वर्गद्धारी लगायतको अवलोकन गर्न पुुगेका थिए । काठमाडौं गएको शनिबार गोदावारी नगरपालिकाको झन्डै पुछारको वडा नम्बर ७ स्थित देउराली गाउँमा पुगेका आगन्तुकले अलोकिक मोसमको अनुभूति दिनभरि जसो गरिरहे ।








उकालो उक्लँदै गर्दा चरक्क घाम चक्र्यो । आगन्तुकहरु ओहो गर्मी भयो भन्दै कोही छाता अनि कोही रुखको छेल परे । डाँडाको टुप्पोमा पुग्दै गर्दा पारि अर्को डाँडाको पछिल्तिरबाट फुरुरुरु एक हुल कुहिरा झुल्किए । त्यहीबेला देउरालीमा बतास चल्यो । अनि एक्कासि पानी पर्न थाल्यो । अब भने आगन्तुकहरु आछुछु भन्दै ओत लागे । कुहिरोको सिरेटोले हरेकको मुटु छोयो । जाडो भयो भन्दै अघि थन्क्याएको बर्सादी र न्यानो लुगा झोलाबाट धमाधम निकाल्न थाले । पुसमाघको हिउँदै झरीपछि हिउँ पर्ला झैँ चिसो बढ्यो । वरपर ढपक्कै कुहिराले ढाक्यो । देउरालीमा बतास चलिरह्यो । आगन्तुकहरु उही बतासमा रमाइरहे ।









तीन हजार मिटरको उचाइमा आगन्तुकसँगै पुग्नु भएका गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनका अनुसार मौसमका हिसाबले पनि मन हर्ने वातावरण रहेको छ । उहाँले भन्नुभयो, “एकै यात्रामा तीनथरी मौसमको अनुभूति सँगाल्न सकिन्छ, पहाडको फेदीमा तराईको जस्तो न्यानो हुन्छ, अलिकमाथि देवीचउरमा अलिक शीतल अनि देउरालीमा हिमालको झल्को दिने मौसम छ ।” इलामको अन्तुडाँडा र धरानको भेडेटार बिर्साउने सुन्दर स्थान भए पनि देउराली प्रवर्धनको पर्खाइमा छ ।
बाह्य आगन्तु टोलीको रौनक त्यहाँ छुट्टै थियो । धुवाँधुलोले उकुसमुकुस काठमाडौँबाट सवारी साधनमार्फत करिब एकदेखि डेढ घण्टाको यात्रापछि हाइकिङका उकालाउकालीतिर पुग्न सकिन्छ । मनसुनी वर्षासँगै पलाएका पालुवा र हरियालीसहितका अजङ्गका पहाडका टाकुरामास्थित देउराली गाउँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान बनाउँदै गरेको स्थानका रुपमा मानिन्छ । फुलचोकी र चन्द्रगिरी पहाडमा हिउँ पर्दा त्यहाँ पनि हिउँ पर्छ । त्यसबेला लेकको मिठो चिसोको अनुभूति आगन्तुकले सुनाउनुहुन्छ । उपप्रमुख मुना अधिकारीले राजधानीनजिकै रहेको यति रमणीय स्थानलाई आन्तरिक र अन्तराष्ट्रिय पर्यटन मार्ग र हाइकिङ स्थलका रुपमा पहिचान दिलाउने प्रयासमा आफुहरु रहेको सुनाउनुभयो ।
















मुख्य गरी तामाङ समुदायको बसोबास रहेको देउरालीमा पर्यटकका लागि होमस्टे बनेको छ । यहाँ आउने पर्यटकले रैथाने अर्गानिक स्वाद बोकेर फर्कने गरेका छन् । उक्त वडाका वडाध्यक्ष मथुरा बजगाईंका अनुसार पर्यटन र वातावरण संरक्षणसँग जोडेर स्थानीयको आर्थिक उपार्जन गराउने दिशामा अग्रसर छ । नजिकै बनाइएको भ्युटावरबाट सिङ्गै काठमाडौं उपत्यका नियाल्न सकिन्छ । वडा सदस्य विनिता नेपालीले यो ठाउँमा सतीदेवीको स्तन पतन भएकाले दुधेश्वरी देवीको मन्दिर रहेको बताउनुभयो । यसले धार्मिक आस्थासँग पनि यस क्षेत्रलाई जोडेको छ । उहाँले भन्नुभयो, “यहाँ मकैबारीमा फल्ने आलुको स्वादले हिमाली मुढे आलुको स्वाद बिर्साउँछ, लेकमा फल्ने मकै उस्तै रसिलो र स्वादिलो हुन्छ, जुन अन्त पाइँदैन ।” गोदावारी नगरपालिका क्षेत्र आफैँमा धार्मिक स्थलको अपूर्व सङ्गम पनि हो । जहाँ उपत्यकाका चार बाराहीमध्ये वज्रबाराही र श्वेतबाराहीको मन्दिर छ । त्यस्तै चार नारायणमध्येका एक विशङ्खु नारायण मन्दिर यहीँ छ । आसपासमा सन्तानेश्वरलगायत स्वर्गद्धारी, मुक्तिनाथ, मनकामना मातासँगैका मठमन्दिर क्षेत्र पनि भएकाले हाइकिङमा रम्दै ती क्षेत्रमा दुईदेखि चार घण्टाको यात्रामा तीथार्टन गर्न सकिन्छ । त्यति मात्र होइन स्वच्छ वातावरणमा साथीभाईसँग रमाउन ठाउँ ठाउँमा व्यवस्थित पिकनिक स्पट छन् । वडा सदस्य शान्ता तामाङले सुनाउनुभयो, “धरानको भेडेटारभन्दा पनि सुन्दर छ यो ठाउँ । हिउँ परेका बेला तरुनीतन्नेरीको हिउँ खेल्ने घुइँचो लाग्ने गर्छ ।






सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष किरण वैकको समुउपस्थितमा आयोजना गरेको अन्तक्रियामा उक्त प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झवीन्द्र भुसाल, आयोजकका तर्फबाट समाजका अध्यक्ष पुरु रिसाल र महासचिव श्याम डोटेल, पत्राकर महासङ्घ ललितपुरका अध्यक्ष रामहरी कार्की लगायतले उक्त क्षेत्रको वातावरण संरक्षण गर्दै पर्यटन र स्थानीयवासीको जीवनस्तर सुधार्न सामुहिक जिम्मेवारीसहित सञ्चार जगत्ले पहल गर्नुपर्नेमा वक्ताहरुले जोड दिनुभएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-07-08
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
विश्वकप फाइनलको विश्लेषण : नतिजा १-० तर खेलमा अर्जेन्टिनामाथि स्पेनको दबदबा
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १२९ जना घाइते
दुर्गेश र प्रियंकाको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइयो
३६ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादनको तयारी
२०८३ साउन २ गते शनिबार: आजको राशिफल
