गणेश कुमार (साजवा) प्रजापतिको प्रेरणादायी यात्रा सांस्कृतिक सम्पदाका समर्पित शिल्पी:

भक्तपुर । नेपाली कला, संस्कृति तथा धार्मिक सम्पदाको संरक्षण र संवर्द्धनमा जीवन समर्पित गर्ने कलाकारहरू प्रायः चर्चाको केन्द्रमा आउँदैनन् । तर, उनीहरूको सिर्जनाले भने पुस्तौंपुस्तासम्म इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त बनाइरहेको हुन्छ । यस्तै मौन साधनामार्फत नेपाली सम्पदाको संरक्षणमा तीन दशकदेखि निरन्तर क्रियाशील हुनुहुन्छ मध्यपुर थिमी–६, भक्तपुर निवासी ५४ वर्षीय मूर्तिकार गणेश कुमार (साजवा) प्रजापति ।

करिब ३० वर्षदेखि मूर्तिकला, धार्मिक संरचना निर्माण तथा मन्दिर पुनःनिर्माणका क्षेत्रमा सक्रिय प्रजापतिले नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदामा आफ्नो कला र सीपको अमूल्य योगदान पुर्‍याउनुभएको छ । उहाँका सिर्जनाहरू केवल मूर्ति वा धार्मिक संरचना मात्र होइनन्, ती नेपाली इतिहास, संस्कृति र पहिचानका जीवन्त दस्तावेज हुन् ।

कोभिड–१९ महामारीका बेला कीर्तिपुरस्थित ऐतिहासिक बाघ भैरव मन्दिरको पुनःनिर्माण कार्यका क्रममा छाना छाउँदा फेला परेको ताम्रपत्रमा मन्दिर परिसरमा स्वर्ण शक्ति भैरव, क्वँ भैरवमा ८४ पाथी च्याङ तथा ह्याँतु भैरव स्थापना गर्नुपर्ने उल्लेख भेटिएको थियो । उक्त ऐतिहासिक अभिलेखलाई आधार मानी गणेश कुमार (साजवा) प्रजापतिले मध्यपुर थिमीमा ती मूर्तिहरू निर्माण गर्नुभयो। त्यसपछि बाजागाजासहित धार्मिक विधिअनुसार ती मूर्तिहरू कीर्तिपुरस्थित बाघ भैरव मन्दिर परिसरमा स्थापना गरिएको थियो । यो कार्यले केवल एउटा धार्मिक परम्परालाई निरन्तरता दिएको मात्र होइन, ऐतिहासिक अभिलेखलाई व्यवहारमा उतार्ने महत्वपूर्ण उदाहरण पनि प्रस्तुत गरेको छ ।

उहाँको कला र समर्पण कीर्तिपुरको बाघ भैरवमा मात्र सीमित छैन । मध्यपुर थिमी, कीर्तिपुर, सन्तुङ्गललगायत विभिन्न स्थानका मन्दिर तथा धार्मिक सम्पदामा उहाँका सिर्जनाहरू आज पनि श्रद्धा, आस्था र नेपाली शिल्पकलाको उत्कृष्ट नमुनाका रूपमा स्थापित छन् । दिगु भैरव (थिमी), सिद्धिकाली मन्दिर (थिमी), नील बाराही गण मन्दिर (सन्तुङ्गल) लगायतका धार्मिक स्थलहरूमा उहाँले निर्माण गरेका मूर्ति तथा संरचनाहरूले नेपाली मौलिक कलालाई थप समृद्ध बनाएका छन् ।

प्रमुख योगदानहरू

मध्यपुर थिमी

* सिद्धिकाली मन्दिर – गजुर निर्माण

* सिद्धिकाली द्यः – आसन तथा तोरण निर्माण

* सिद्धि गणेश मन्दिर – दुईवटा च्यछु निर्माण

* सिद्धि गणेश द्यः – अनुहार निर्माण

* विश्व विनायक द्यः – आसन तथा तोरण

* पाँचो गणेश – तोरणमा रहेको गणेश मूर्ति निर्माण

* प्रचण्ड भैरव मूर्ति

* पाटी बिहार – बुद्ध मूर्ति निर्माण

* थिमी भैल मुकुटमा रंग (कुमानानी)

* ल्याकु भैलमा कलात्मक योगदान

कीर्तिपुर

* बाघ भैरव – पुनःनिर्माण

* बाघ भैरव द्यः – आसन तथा तोरण

* स्वर्ण शक्ति बाघ भैरव – पुनःनिर्माण

* ह्याँतु भैरव द्यः – पुनःनिर्माण

यसका अतिरिक्त नेपालका विभिन्न मठ–मन्दिर तथा धार्मिक सम्पदाहरूमा पनि उहाँले अनेकौं मूर्ति निर्माण, पुनःस्थापना तथा संरक्षणका कार्यहरू गर्दै आउनुभएको छ ।

गणेश कुमार (साजवा) प्रजापतिको जीवन केवल एक कलाकारको यात्रा होइन, यो नेपाली कला, संस्कृति र धार्मिक सम्पदाप्रतिको निष्ठा, समर्पण र जिम्मेवारीको प्रेरणादायी उदाहरण हो । प्रचारभन्दा कर्मलाई विश्वास गर्ने उहाँजस्ता शिल्पीहरूको योगदानकै कारण आज पनि नेपालका ऐतिहासिक मन्दिर, देवमूर्ति र सांस्कृतिक सम्पदाहरूले आफ्नो मौलिक स्वरूप जोगाइरहेका छन् ।

नेपाली कला र सांस्कृतिक सम्पदाको संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदान सधैं सम्मानका साथ स्मरणीय रहनेछ । यस्ता समर्पित शिल्पीहरूको कार्यलाई राज्य, सम्बन्धित निकाय तथा समाजले उचित सम्मान र पहिचान दिन सके नेपाली मौलिक कला र सम्पदाको संरक्षणले अझ सशक्त आधार प्राप्त गर्नेछ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-07-03