काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा २०८३ साल असार ४ गते मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२६ का सहभागीहरूलाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम मण्डला ब्याङ्क्वेट, तीनकुने, काठमाडौंमा सम्पन्न भएको छ ।

महिलाहरूमा बढ्दो क्यान्सरको जोखिमबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्तन तथा पाठेघरको मुखको क्यान्सरका कारण, लक्षण, रोकथामका उपाय, समयमै परीक्षण तथा उपचारको महत्वबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तर ले सहजीकरण गर्दै स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने बताउनुभयो । उहाँले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली तथा पाठेघरको मुखको क्यान्सर विरुद्ध उपलब्ध खोपको महत्वबारे पनि जानकारी दिनुभयो ।

स्तन क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली अपनाउनु, सन्तुलित आहार खानु, नियमित व्यायाम गर्नु, धूम्रपान तथा मदिरापानबाट टाढा रहनु आवश्यक छ । साथै, ४० वर्षभन्दा माथिका महिलाहरूले चिकित्सकको सल्लाहअनुसार नियमित म्यामोग्राफी जाँच गराउनु लाभदायक हुन्छ । स्तन क्यान्सरबारे जनचेतना फैलाउनु, समयमै परीक्षण गराउनु र आवश्यक उपचार लिनु नै यस रोगबाट हुने जोखिम तथा मृत्यु दर कम गर्ने प्रभावकारी उपायहरू हुन् डा. अख्तरले बताउनु भयो ।

जनचेतना कार्यक्रममा सहभागीहरूले क्यान्सरसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए भने डा. अख्तरले वैज्ञानिक तथा व्यवहारिक जानकारीसहित उनीहरूका प्रश्नहरूको उत्तर दिनुभएको थियो । कार्यक्रममा महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन तथा नियमित स्वास्थ्य परीक्षण गराउन प्रेरित गरिएको थियो ।

कार्यक्रमलाई अझ आकर्षक बनाउँदै नेपाली संगीत क्षेत्रका चर्चित कलाकार तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ (एन.एस.के.) द्वारा विशेष “क्यान्सर सचेतना, स्वास्थ्य सल्लाह तथा सेलिब्रेटी इन्टर्याक्सन क्लास”सञ्चालन गरिएको थियो। आफ्नो संघर्षदेखि सफलतासम्मको अनुभव साझा गर्दै उहाँले युवाहरूलाई सपनाप्रति प्रतिबद्ध रहन, निरन्तर मेहनत गर्न र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्नुभयो ।

कार्यक्रमका संरक्षक तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले यस्ता जनचेतनामूलक कार्यक्रमहरू समाजमा अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सचेतनालाई गाउँ–गाउँसम्म पु¥याउन प्रतिष्ठान निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले स्वास्थ्यसँगै मानसिक सशक्तीकरण र प्रेरणाको आवश्यकता औंल्याउँदै युवापुस्तालाई सचेत, जिम्मेवार र आत्मविश्वासी बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२६ का आकृति तामाङ, अस्मिता तामाङ, बिपिसा भट्टराई, कदमिया, हिमा कुमारी राजवंशी, कल्पना राई, कल्पना पर्साई, खुस्बु कुमारी कर्न, प्रमिला राई, रचना लोहानी, राधा ढकाल, रोजिना गिरी, सामी, सरिता राई, तानिया खान, तिर्था कुमारी मगर, गिता आर्यल, गंगा न्यौपाने, रोजी श्रेष्ठ, लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, वरिष्ठउपाध्यक्ष निर्णय श्रेष्ठ (एन.एस.के) र फोटोग्राफर राम कृष्ण गर्तौलाको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रमका अध्यक्ष भरत सामरी र माया मगर उपस्थित रहेको थियो । स्वास्थ्य र मनोरञ्जनको उत्कृष्ट संयोजनका रूपमा रहेको उक्त कार्यक्रममा सहभागीहरूले प्रत्यक्ष अन्तरक्रिया गर्दै क्यान्सर सम्बन्धी विभिन्न जिज्ञासाहरू राखेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरूले यस प्रकारका कार्यक्रमहरू समाजमा सचेतना फैलाउन अत्यन्त प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्षका भनाई अनुसार यस्ता कार्यक्रमले क्यान्सरसम्बन्धी भ्रम हटाउन, प्रारम्भिक परीक्षणप्रति आकर्षित गर्न तथा रोग नियन्त्रण अभियानलाई समुदायस्तरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने साथै आगामी दिनहरूमा पनि नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सहकार्यमा यस्ता ज्ञानमूलक, प्रेरणादायी तथा अन्तरक्रियात्मक कार्यक्रमहरूलाई अझ व्यापक रूपमा विस्तार गरिने व्यक्त गरिएको थियो

आयोजकका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत बन्न प्रेरित गर्नुका साथै क्यान्सर जस्ता गम्भीर रोगको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रम अन्त्यमा सहभागीहरूले यस्ता कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उक्त संचेतनात्मका कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए ।
























रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-19
नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड-२०२६’का सहभागीलाई क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम
कक्षा १२ को नतिजा प्रकाशित
युवा उद्यमी रोजल शाहीलाई ‘कर्पोरेट युथ इन्टरप्रेनर अवार्ड-२०२६’
राससका फोटोपत्रकार वन्तलाई कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६ बाट सम्मान
MŌDA Yoga Festival 2026 to celebrate International Yoga Day in Lalitpur with Free Yoga Sessions, Wellness Marketplace, Live Music, and Sunset Kirtan
अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य, पेजेशकियान र ट्रम्पले गरे सहमतिमा हस्ताक्षर
