युवा उद्यमी रोजल शाहीलाई ‘कर्पोरेट युथ इन्टरप्रेनर अवार्ड-२०२६’

काठमाडौं। फिटनेस तथा स्वास्थ्य क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका युवा उद्यमी रोजल शाही ‘१८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ अन्तर्गत प्रदान गरिएको प्रतिष्ठित कर्पोरेट युथ इन्टरप्रेनर अवार्ड बाट सम्मानित भएका छन्।

कर्पोरेट क्षेत्रका सफल व्यवसायी, नवप्रवर्तनकर्ता तथा उद्यमशील व्यक्तित्वहरूको योगदानको कदर गर्दै हरेक वर्ष प्रदान गरिने कर्पोरेट बिजनेस अवार्ड नेपालका प्रतिष्ठित व्यावसायिक सम्मानहरूमध्ये एक मानिन्छ। यस वर्षको १८औँ संस्करणमा विभिन्न क्षेत्रका उत्कृष्ट व्यवसायी तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा युवा पुस्तालाई प्रेरणा दिने उद्यमशीलता, व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा समाजमा सकारात्मक प्रभाव पार्न सफल युवा व्यवसायीका रूपमा रोजल शाहीलाई कर्पोरेट युथ इन्टरप्रेनर अवार्ड २०२६ प्रदान गरिएको हो।

शाही काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका रेगल फिटनेसका संस्थापक तथा निर्देशक हुन्। रेगल फिटनेसले हाल उपत्यकाभित्र चारवटा अत्याधुनिक फिटनेस सेन्टरमार्फत स्वास्थ्य, व्यायाम तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्दै आइरहेको छ। साथै, उनी क्लासिक फिटनेस एकेडेमीका समेत सञ्चालक हुन्, जहाँ दक्ष फिटनेस प्रशिक्षक तथा स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादनमा विशेष योगदान पु¥याइँदै आएको छ।

व्यावसायिक फिटनेस सेवाको विस्तार, आधुनिक उपकरणको प्रयोग, अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण प्रणालीको विकास, दक्ष प्रशिक्षक उत्पादन तथा युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न खेलेको भूमिकाको कदरस्वरूप शाहीलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

पुरस्कार ग्रहण गर्दै शाहीले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण रेगल फिटनेस परिवार, प्रशिक्षक टोली, कर्मचारी तथा सेवाग्राहीहरूको विश्वास र सहयोगको प्रतिफल भएको बताए। उनले आगामी दिनमा पनि नेपालमा अन्तर्राष्ट्रियस्तरको फिटनेस संस्कृति विकास गर्दै युवाहरूलाई स्वास्थ्यप्रति सचेत बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

फिटनेस उद्योगलाई व्यवस्थित, व्यवसायिक तथा परिणाममुखी बनाउने अभियानमा सक्रिय शाहीको नेतृत्वमा रेगल फिटनेसले छोटो समयमै काठमाडौं उपत्यकामा आफ्नो सशक्त उपस्थिति स्थापित गर्न सफल भएको छ। स्वास्थ्यप्रति बढ्दो जनचेतनासँगै उनको योगदानले नेपालको फिटनेस तथा वेलनेस उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूको भनाइ छ।

यस सम्मानले रोजल शाहीलाई मात्र नभई नेपालको समग्र फिटनेस उद्योगलाई समेत थप ऊर्जा, प्रेरणा र पहिचान प्रदान गरेको विश्वास गरिएको छ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-19