काठमाडौँ । अमेरिका र इरानबीच हुन सक्ने सम्भावित समझदारीपत्रको अन्तिम मस्यौदामाथि इरानले विस्तृत समीक्षा गरिरहेको जनाएको छ । इरानले अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया नपठाएको जानकारी अर्धसरकारी समाचार संस्था मेहरले जानकारी दिएको छ ।
प्रतिवेदनअनुसार इरानी वार्ता टोलीले दस्तावेजका सर्त र प्रावधानहरूको विस्तृत अध्ययन गरिरहेको छ । समीक्षा प्रक्रिया पूरा भएपछि मात्रै तेहरानले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।
इरानी वार्ता टोली निकट स्रोतका अनुसार विगतमा अमेरिका विभिन्न सम्झौता र प्रतिबद्धताबाट पछि हटेको इतिहास रहेकाले इरानले यस विषयमा अत्यन्त सावधानीपूर्ण दृष्टिकोण अपनाएको छ । रिपोर्टमा भनिएको छ- ‘अमेरिकाले आफ्ना वाचा तोड्दै आएको इतिहास र लामो समयदेखि कायम अविश्वासका कारण इरानले यो विषयमा निकै कडा र सतर्क नीति अपनाएको हो ।’
सम्भावित समझदारीपत्रको विषयवस्तु भने सार्वजनिक गरिएको छैन । यद्यपि यसलाई अमेरिका र इरानबीच जारी कूटनीतिक संवादको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ । विज्ञहरूका अनुसार वर्षौंदेखिको तनावपूर्ण सम्बन्धका कारण इरान कुनै पनि नयाँ सम्झौताबारे निर्णय लिनुअघि हरेक पक्षको गहिरो अध्ययन गर्न चाहन्छ । त्यसैले इरानको आगामी प्रतिक्रियामाथि अन्तर्राष्ट्रिय समुदायको विशेष ध्यान केन्द्रित भएको छ ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले युद्धविराम अवधिमा आफ्नो सैन्य तथा सञ्चालन क्षमता थप सुदृढ भएको दाबी गरेको छ । संगठनका प्रवक्ता जनरल सरदार मोहबीले हालै भएको अमेरिका–इजरायल संघर्षबाट इरानी सशस्त्र बलले महत्वपूर्ण रणनीतिक तथा सञ्चालनसम्बन्धी अनुभव हासिल गरेको बताएका छन् । सरकारी प्रसारण संस्था आइआरआइबीसँगको कुराकानीमा मोहबीले भने- ‘आज हाम्रो सशस्त्र सेना पहिलेको तुलनामा अझ बलियो अवस्थामा छ।’
उनका अनुसार हालैको संघर्षको प्रमुख उपलब्धिमध्ये एक भनेको इरानले आफ्ना विरोधीहरूको सैन्य रणनीति र कार्यशैलीबारे थप जानकारी प्राप्त गर्नु हो। यसले भविष्यका तयारीहरूलाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको उनले बताए । मोहबीले भविष्यमा विपक्षी पक्षले पुनः सैन्य कारबाहीको बाटो रोजे इरानको प्रतिक्रिया फरक प्रकृतिको हुने चेतावनी पनि दिएका छन्। उनका अनुसार सम्भावित भविष्यको संघर्षमा सैन्य अभियानको स्वरूप, युद्धक्षेत्र र प्रयोग गरिने हतियारहरूमा समेत परिवर्तन देखिन सक्छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स सबै सम्भावित परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको र कुनै पनि सैन्य चुनौतीको सामना गर्न सक्षम रहेको मोहबीको दाबी छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-03
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
