काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका ईश्वरी प्रसाद गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८१–सिआर–०११८ मा नेपाल सरकार वादी तथा चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षी ईश्वरी प्रसाद गौतमले आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयान र आरोप मागदाबीको विपरीत अदालतमा बकपत्र गरेको विषयमा अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको त्रिवेणी गाउँपालिका–७ स्थायी ठेगाना भएका ईश्वरी प्रसाद गौतमले वैशाख २३ गते विशेष अदालत, काठमाडौँमा बकपत्र गर्दा आयोगसमक्ष दिएको बयान तथा आरोप मागदाबीविपरीत अभिव्यक्ति दिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिएबापत ५० लाख रुपैयाँ घुस माग गरी लिएको घटनामा ईश्वरी प्रसाद गौतमको पनि संलग्नता देखिएको छ । यस आधारमा गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
उक्त ऐनको व्यवस्था अनुसार उनलाई कैद सजाय तथा बिगो बराबरको जरिवाना हुनुपर्ने मागदाबी गर्दै अख्तियारले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
