खैरहनी, चितवन, खैरहनी नगरपालिका वडा नं. २ को आयोजनामा जनजीवन माध्यमिक विद्यालयमा सात दिने सीपमा आधारित फोटोग्राफी तथा ड्रोन सीप विकास तालिम सुरु भएको छ। उक्त कार्यक्रम खैरहनी नगरपालिका वडा नं. २ ले आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँ ले आजको शिक्षामा व्यवहारिक तथा सीपमूलक शिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो। उहाँले वडा कार्यालयले विद्यालयलाई लक्षित गरी विद्यार्थीहरूका लागि यस्ता तालिम सञ्चालन गर्नु सकारात्मक कार्य भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूको भविष्यलाई सहज बनाउनुका साथै उनीहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।



कार्यक्रमका अध्यक्ष तथा वडा नं. २ का वडा अध्यक्ष रोहिणीप्रसाद उप्रेती ले वडा कार्यालयले २०८० सालदेखि विभिन्न क्षेत्रमा वार्षिक बजेटमार्फत सीप विकास कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। साथै, एआई (कृत्रिम बुद्धिमत्ता) को बढ्दो प्रभावसँगै प्रविधिमैत्री तथा समयानुकूल कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै अहिलेका विद्यार्थीहरू प्रविधिमैत्री भएकाले यस्ता तालिमहरूलाई सहज रूपमा सञ्चालन गरिएको धारणा व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकासचन्द्र अर्याल ले विद्यालयस्तरमै यस्ता सीपमूलक कार्यक्रमहरू अनिवार्यजस्तै भइसकेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक अञ्जना आचार्य ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा वडा सदस्य, अभिभावक, विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

तालिममा राष्ट्रिय समाचार समितिका सिनियर फोटोपत्रकार तथा राष्ट्रिय फोटोपत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त प्रमुख प्रशिक्षकका रूपमा रहनुभएको छ।

उहाँले फोटोग्राफी, मोबाइल फोटोग्राफी लगायतका विषयमा प्रशिक्षण दिनुहुनेछ। त्यसैगरी, ड्रोन प्रशिक्षकका रूपमा प्रवीण भट्टराई ले सहजीकरण गर्नुहुनेछ। तालिममा कक्षा ११ र १२ का २० जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
