काठमाडौँ । फारसको खाडीस्थित इरानको खार्ग टापुनजिक ठूलो मात्रामा तेल चुहावट भएको आशंका गरिएको छ । सार्वजनिक भएका उपग्रह तस्बिरहरूमा समुद्रमा फैलिएको तेल स्पष्ट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
न्युयोर्क टाइम्सका अनुसार अमेरिकी प्रतिबन्ध र होर्मुज जलडमरु क्षेत्रमा बढ्दो तनावका कारण यो अवस्था सिर्जना भएको हुनसक्ने अनुमान गरिएको छ ।
अर्बिटल ईओएस नामक संस्थाका अनुसार समुद्रमा तेल ५१ वर्ग माइलभन्दा बढी क्षेत्रमा फैलिएको छ । प्रारम्भिक अनुमानअनुसार तीन हजार ब्यारेलभन्दा बढी तेल समुद्रमा बगेको हुनसक्ने बताइएको छ ।
प्रतिवेदनहरूमा अमेरिकी प्रतिबन्ध र नौसैनिक दबाबका कारण इरानको तेल निर्यात प्रभावित भएको उल्लेख गरिएको छ । धेरै तेल ट्यांकर रोकिएको अवस्था रहेको तथा देशभित्र तेल भण्डारण गर्ने ठाउँ अभाव हुन थालेको दाबी गरिएको छ । यही कारण अतिरिक्त तेल समुद्रमा फालिएको हुनसक्ने आशंका गरिएको हो ।
ह्याम्बर्ग प्रविधि विश्वविद्यालयका प्राध्यापक निमा शोकरीले तेलका इनार एक्कासि बन्द गर्न सहज नहुने बताएका छन् । उनका अनुसार त्यसो गर्दा पाइपलाइन अवरुद्ध हुनसक्ने वा तेल भण्डारण प्रणालीमै क्षति पुग्न सक्छ ।
उनले तेलका इनार चाहेको बेला बन्द र सञ्चालन गर्न सकिने सामान्य मेसिनजस्तो नभएको टिप्पणी गरेका छन् ।
केही विज्ञहरूले भने खार्ग टापुनजिक पुरानो पाइपलाइनमा चुहावट हुनु पनि घटनाको कारण हुनसक्ने बताएका छन् । फैलिएको तेल बिस्तारै साउदी अरबको समुद्री क्षेत्रतर्फ बढिरहेको दाबी गरिएको छ, जसले वातावरणीय क्षतिको जोखिम समेत बढाएको छ ।
यता इरानले भने तेल चुहावट सम्बन्धी सबै दाबी अस्वीकार गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार इरान आयल टर्मिनल्स कम्पनीले गरिएको जाँचमा कतै पनि तेल चुहावटको प्रमाण नभेटिएको जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
