काठमाडौँ । अमेरिकाले क्युबामाथि आर्थिक दबाब बढाउँदै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मारको रुबियोले ट्रम्प प्रशासनको निर्णयको बचाउ गर्दै प्रतिबन्ध क्युबाली जनतामाथि नभई सत्तासँग जोडिएको आर्थिक सञ्जाललाई लक्षित गरिएको बताएका छन् ।
नयाँ प्रतिबन्धको मुख्य निशानामा क्युबाको क्रान्तिकारी सशस्त्र सेनाले सञ्चालन गर्दै आएको विशाल व्यापारिक समूह जीएइएसए परेको छ । साथै क्यानडाको कम्पनी शेरिट इन्टरनेशनलसँग संयुक्त रूपमा सञ्चालित मोआ निकल परियोजनामाथि पनि प्रतिबन्ध लगाइएको छ । त्यसपछि शेरिट इन्टरनेसनलले क्युबाबाट आफ्नो व्यवसाय समेट्ने घोषणा गरेको छ । यससँगै क्युबामा कम्पनीको ३२ वर्ष लामो उपस्थिति अन्त्य हुने भएको छ ।
विशेषज्ञहरूले यी प्रतिबन्धले पहिले नै कमजोर अवस्थामा रहेको क्युबाको अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताएका छन् । क्विन्सी संस्थानसँग आबद्ध अनुसन्धानकर्ता ली स्लेन्करका अनुसार नयाँ कानुनी अधिकारअन्तर्गत अमेरिकाले अब तेस्रो देशका कम्पनी र नागरिकमाथि पनि कारबाही गर्न सक्नेछ । उनका अनुसार त्यस्ता कम्पनीका अमेरिकी सम्पत्ति रोक्का गर्न सकिनेछ भने लगानीकर्ता र कर्मचारीको अमेरिका भ्रमणमा समेत असर पर्न सक्छ ।
क्युबा मामिलाका विज्ञ तथा अर्थशास्त्री पाभेल भिडालले यी कदमलाई अत्यन्त चिन्ताजनक भनेका छन् । उनका अनुसार क्युबाको अर्थतन्त्र पहिले नै लगभग ठप्प अवस्थामा पुगेको छ । जनवरीदेखि अमेरिकाले इन्धन आपूर्ति रोकेपछि अवस्था अझ खराब बनेको उनले बताएका छन् । नयाँ प्रतिबन्धपछि जीएइएसएसँग आबद्ध विदेशी साझेदारहरू पनि टाढिन सक्ने उनको भनाइ छ, किनकि धेरै कम्पनीले अमेरिकी प्रतिबन्धलाई चुनौती दिने जोखिम उठाउन चाहँदैनन् ।
विशेषज्ञहरूका अनुसार जीएइएसएको क्युबाको अर्थतन्त्रमा अत्यन्त गहिरो प्रभाव छ । यो समूहले खुद्रा व्यापार, होटल, ट्राभल एजेन्सी, सवारी भाडा सेवा, वित्तीय संस्था तथा मुद्रा विनिमय सञ्जालसम्म नियन्त्रण गर्दै आएको छ । प्रतिवेदनहरूका अनुसार जीएइएसएको प्रभाव क्युबाको कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत क्षेत्रमा फैलिएको छ ।
सन् १९९० को दशकमा सोभियत संघ विघटन भएपछि र अमेरिकी प्रतिबन्ध कडा बनेपछि क्युबाली सेनाले यो व्यापारिक संरचना निर्माण गरेको थियो । लामो समयसम्म यसको नेतृत्व पूर्वराष्ट्रपति राउल कास्ट्रोका ज्वाइँ लुइस अल्बर्टो रोड्रिगेज लोपेज–कालेजाले गरेका थिए । उनको निधनपछि अनिया गिलर्मिना लास्त्रेसलाई जीएइएसएको नयाँ प्रमुख बनाइएको थियो । अमेरिकाले अहिले उनलाई पनि कालोसूचीमा राखेको छ ।
यता क्युबा सरकारले अमेरिकी प्रतिबन्धलाई ‘सामूहिक सजाय’ को संज्ञा दिएको छ । हाभानाले अमेरिका राजनीतिक दबाब सिर्जना गर्न क्युबाको अर्थतन्त्र कमजोर पार्न खोजिरहेको आरोप लगाएको छ । यसबाट सर्वसाधारण नागरिकले ठूलो कठिनाइ भोग्नुपरेको क्युबाको भनाइ छ ।
क्युबा अहिले नै लामो विद्युत् तथा पानी कटौती, इन्धन अभाव र खाद्य आपूर्ति संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा नयाँ अमेरिकी प्रतिबन्धले त्यहाँको आर्थिक तथा मानवीय संकट अझ गहिरिने आशंका गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-09
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
