काठमाडौं । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ । यसअघिको सुशिला कार्की नेतृत्वको सरकारले आफ्नो ६ महिने कार्यकालमा सम्पत्ति विवरण सार्बजनिक गरेको थिएन ।
प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै बालेनको नाममा काठमाडौँमा ५ आना जग्गा र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख छ । त्यस्तै महोत्तरीमा ९ बिघा जग्गा आफ्ना पिता राम नारायण शाहको नाममा रहेको उल्लेख छ । त्यस्तै बालेनसँग विभिन्न बैंकमा नगद एक करोड ४६ लाख रहेको र सो रकम सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकलगायतबाट भएको आम्दानी रहेको विवरणमा उल्लेख छ । त्यस्तै उनले आफ्नो सम्पतिमा फेसबुक, युट्युबका फलोअरको संख्यासमेत उल्लेख गरेका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सार्वजनिक सम्पत्ति विवरण अनुसार अर्थमन्त्री वाग्लेसँग चारवटा घर/अपार्टमेन्ट र १ करोड ९० लाख बैंक ब्यालेन्स रहेको छ । उनको ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँमा २ करोडको घर रहेको विवरणमा उल्लेख छ। उनले प्राप्तिको स्रोतमा अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा व्यक्तिगत सापटी रहेको उनले उल्लेख गरेका छन् । उनको साढे ४ करोड बराबरको सेयर रहेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरणअनुसार उनको काठमाडौंको टोखामा एउटा घर रहेको छ । यसबाहेक उनको नाममा तनहुँ, नवलपुर र बाँकेको नेपालगञ्जमा समेत जग्गा रहेको खुलेको छ । मन्त्री खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ। त्यस्तै, उनले आफूसँग १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ । उनले बैंकबाट ऋृण लिएर ४० लाखमा ‘डङफेङ विगो’ गाडी खरिद गरेको उल्लेख छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ छ । कुल सम्पत्तिमध्ये २३ करोड ४१ लाख २७ हजार उनको खुद सम्पत्ति हो । जसमा ७५ लाख रुपैयाँ ऋण रहेको छ ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सुन १५ तोला र चाँदी ५० तोला रहेको विवरण पेस गरेका छन् । यस्तै चार आना पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ । यस्तै उनले शेयरमा एक करोड ४५ लाख ४८ हजार ४२० लगानी रहेको विवरणमा उल्लेख छ । त्यस्तै उनले विभिन्न बैंकमा करिब ७९ लाख नगद रहेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनीसँग दुई वटा गाडी र एक स्कुटर रहेको तिनैको कुल मुल्य ३० लाख ७१ हजार रहेको उल्लेख छ । त्यस्तै उनले ३ लाख बराबर मूल्यका विभिन्न ब्रान्डका घडी रहेको विवरणमा उल्लेख गरेका छन् ।
गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरण अनुसार मन्त्री गुरुङको विभिन्न बैंकमा ६१ लाख ३५ हजार नगद रहेको छ भने शेयर बजारमा ४ करोड भन्दा बढीको लगानी रहेको छ । गुरुङको होप होल्डिङ्स प्रालिमा ३० लाख बराबरको ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ भने लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ लाख बराबरको ५ हजार ७ सय थान साधारण सेयर रहेको उल्लेख छ । त्यस्तै, धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार बराबरको शेयर रहेको उल्लेख गरेका छन् । त्यसैगरी मन्त्री गुरुङको एड्भेन्चर भिल्ला प्रालिमा ७० लाख बराबरको ७० हजार थान शेयर रहेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनले पत्रिक सम्पत्तिमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरण पेश गरेका छन् । त्यसैगरी उनको धनकुटामा लगानीबाट प्राप्त आय बाट १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख गरेका छन् भने चितवनमा पिता दिल बहादुर गुरुङको नाममा ३० कठ्ठा र गोरखामा बाजे रामसल गुरुङ तथा परिवार (बाँडफाँड नभएको) को नाममा २२१ रोपनी जग्गा रहेको उल्लेख छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंकमा नगद १० लाख ५० हजार रहेको उल्लेख छ भने उनले गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको उल्लेख छ । त्यस्तै एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा रहेको छ भने श्रीमान गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको ३० रोपनी पैतृक सम्पत्ति विवरणमा उल्लेख छ भने ११ कठ्ठा २५ धुर जमिन रहेको छ । त्यस्तै ३० तोला सुन र ५० तोला चाँदी तथा विभिन्न बैंकमा ९० लाख रूपैयाँ मौज्दात रहेको उल्लेख छ ।
संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको सम्पत्ति विवरणमा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेको उल्लेख छ । उनले यी जग्गा खरिदको स्रोत श्रीमान्को आय उल्लेख गरेकी छन् । त्यस्तै आफूसँग २५ तोला सुन रहेको र विभिन्न बैंकमा २४ लाख बढी रकम बचत रहेको विवरण पेश गरेकी छन् भने २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन् । त्यस्तै ४४ लाखको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीको सार्वजनिक सम्पत्ति विवरणमा ५० हजार रुपैयाँ पर्ने घडी, ९० हजारको मोबाइल र ७५ हजार बराबरको ल्यापटप रहेको उल्लेख छ । त्यस्तै ५ तोला सुन र १०० तोला चाँदी रहेको छ भने ५ बैंकमा १ लाख २६ हजार रुपैयाँ नगद रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरीले ऋणमा स्कुटर खरिद गरेको र स्कुरट खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरेको उल्लेख छ । स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको उल्लेख छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरणमा २० कुखुरा र एउटा कुकुर पनि उल्लेख गरेकी छन । सार्वजनिक सम्पत्ति विवरणमा उनले आफूसँग स्कुटर, तीन ल्याप्टप र २ वटा मोबाइल रहेको उल्लेख गरेकी छन् । उनको श्रीमानको पल्सर मोटरसाइकल रहेको उल्लेख छ भने नगद ५० हजार र बैंकमा श्रीमानको सहित १५ लाख रहेको उल्लेख छ । मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ भने सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको विवरणमा उल्लेख छ ।
स्वास्थ्य मन्त्री निशा मेहताको सम्पत्ति विवरण अन्यसर ३० तोला सुनको गरगहना र ५० तोला चाँदी रहेको उल्लेख छ । मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा, माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार, सानिमा बैंकमा १० लाख र २५ लाखको आई १० को एउटा गाडी रहेको छ ।
उद्योग वाणिज्य मन्त्री गौरी कुमारी यादवले काठमाडौंमा २५ आना र महोत्तरीमा २९ कठ्ठा जग्गा रहेको उल्लेख गरेकी छिन् । सुन १८० तोला र चाँदी २ किलो रहेको उनको विवरण छ । श्रमन्त्री रामजी यादवले राजविराजमा ११ कठ्ठा १३ धुर जमिन रहेको उल्लेख गरेका छन् । ८० तोला सुन र १५० तोला चाँदी रहेको उनको विवरणमा उल्लेख छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलको सम्पत्ति विवरणमा ११ तोला सुन र पाँच तोला चाँदी रहेको उल्लेख छ । यस्तै विभिन्न स्थानमा जग्गा रहेको उनको विवरण छ । करिब २५ लाख नगद रहेको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले एक करोड ४० लाख ऋण रहेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनले ३९ लाख बराबरका एक जीप र २ स्कुटर किनेको उल्लेख गरेका छन् ।
सञ्चार तथा सूचना मन्त्री विक्रम तिम्लसिनाले सम्पत्ति विवरणमा नागार्जुनमा १४२.७० बर्ग मित्रमा जग्गा रहेको उल्लेख छ भने करिब ५ तोला सुन र चाँदी १० तोला रहेको विवरण उल्लेख गरेका छन् । उनले १० लाख २५ हजार नगद रहेको खुलाएका छन् । त्यसैगरी उनीसँग २३ लाख बराबरको गाडी रहेको उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-13
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
