काठमाडौँ । भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।
उनको जीवन यात्रा उतार-चढावले भरिएको प्रेरणादायी कथा रहेको छ । आफ्नी जेठी दिदी तथा स्वरसम्राज्ञी लता मंगेशकरको पदचिन्ह पछ्याउँदै उनी पनि सानै उमेरमा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
बुबाको निधनपछि परिवारको जिम्मेवारी बहन गर्न दुवै दिदी–बहिनीले गीत-संगीतको यात्रालाई अघि बढाएका थिए । आशा भोसलेले पहिलो पटक सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’ मा गीत गाएकी थिइन् । त्यसपछि सन् १९४८ को हिन्दी फिल्म ‘चुनरिया’ मा ‘सावन आया’ गीतमार्फत उनले बलिउडमा आफ्नो पहिचान बनाइन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्कनुपरेन र भारतीय सिने-संगीतकी सबैभन्दा लोकप्रिय गायिकामध्ये एक बन्न सफल भइन् । उनले विभिन्न भाषामा हजारौं गीत गाएर भारतसँगै विश्वभर नाम कमाइन्।
तर, आशा भोसलेको व्यक्तिगत जीवन भने तनाव र उतार चढावपूर्ण रहेको थियो । उनको दिदी लता मंगेशकरसँगको सम्बन्धलाई लिएर समय-समयमा प्रतिस्पर्धाको चर्चा भए पनि दुवैले कहिल्यै त्यसलाई स्वीकार गरेनन् । आशा भोसले स्वयंले लता मंगेशकरलाई आफ्नो आदर्श मानेको बताउँदै आएकी थिइन् । यद्यपि, सानै उमेरमा आशाले लता मंगेशकरका सेक्रेटरी गणपत राव भोसलेसँग प्रेम विवाह गरेपछि परिवारभित्र असहज स्थिति बनेको थियो । गणपत राव उमेरमा करिब २० वर्ष जेठा थिए ।
पछि बलिउडमा ‘साज’ नामक फिल्म निर्माण भएको थियो, जसलाई लता-आशा दिदीबहिनीबीचको सम्बन्धसँग जोडेर चर्चा गरिएको थियो । तर आशा भोसलेले यो फिल्म वास्तविक जीवनसँग मेल नखाने भन्दै आलोचना गरेकी थिइन् । निर्माण पक्षले भने फिल्म व्यक्तिगत अनुभव र भावनाबाट प्रेरित रहेको दाबी गरेको थियो ।
आशा भोसलेको पहिलो विवाह लामो समय टिकेन । करिब ११ वर्षपछि उनी श्रीमानसँग अलग भइन् । पहिलो विवाहबाट उनी तीन सन्तानकी आमा बनिन् । त्यही समय उनले कठोर पारिवारिक परिस्थितिको सामना गर्नुपरेको थियो ।
पछि उनको जीवनमा संगीतकार आर.डी. बर्मनसँग सम्बन्ध जोडियो । दुबैबीच प्रेम सम्बन्ध पछि विवाहमा परिणत भयो । आर.डी. बर्मन उमेरमा आशाभन्दा सानो भए पनि उनीहरूको जोडी संगीत क्षेत्रमा निकै सफल मानिन्छ । सन् १९९४ मा आर.डी. बर्मनको निधनपछि आशा भोसले फेरि एक्लो जीवनमा फर्किन बाध्य भइन् । त्यसपछि उनको जीवनमा थप दुःख थपियो। सन् २०१२ मा उनकी छोरी वर्षाको निधन भयो भने सन् २०१५ मा छोरा हेमन्तको क्यान्सरका कारण निधन भयो । यी लगातारका घटनाले उनलाई गहिरो मानसिक पीडा दिएको थियो ।
संगीत बाहेक आशा भोसलेको खाना पकाउने रुचि पनि चर्चित छ । यदि गायिका नभएको भए उनी कुक बन्ने सपना रहेको उनले विभिन्न अन्तर्वार्तामा बताएकी थिइन् । उनको नाममा विदेशमा भारतीय खाना सेवा गर्ने रेस्टुरेन्ट पनि सञ्चालनमा छन् ।
संगीत यात्रामा मात्र सीमित नभई उनले अभिनयमा पनि हात हालेकी छन् । सन् २०१३ मा मराठी फिल्म ‘माई’ मा उनको अभिनयलाई दर्शक र समीक्षक दुवैले प्रशंसा गरेका थिए ।
आशा भोसलेको जीवन संगीत, संघर्ष, प्रेम र व्यक्तिगत पीडाले भरिएको एउटा असाधारण यात्रा बनेको छ, जसले उनलाई भारतीय सांगीतिक इतिहासमा अमर बनाएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-12
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
